काठमाडौं । नेपालमा अहिले सर्वाधिक सफल सेग्मेन्ट एसयूभी हो । ४ मिटरभन्दा केही छोटा र ४.४ मिटरभन्दा कमका एसयूभी बजारमा धेरै बिक्री हुँदै आएका छन् ।
विशेषगरी सब फोर मिटर सेग्मेन्टमा आउने एसयूभीले बजारमा निकै ठूलो हिस्सा ओगट्न सफल भएको देखिन्छ । त्यो सेग्मेन्टमा अहिले पनि टाटा नेक्सन लिडर हो । नेक्सनकै बजार हिस्साको कारण टाटा नेपालमा मार्केट सेयरको हिसाबले पहिलो कम्पनी हो ।
सब फोर मिटर सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा, किया सोनेट, निसान म्यागनाइट र हुन्डाई भेन्यू ग्राहकले मन पराएका मोडल हुन् । तर, पछिल्लो समय विद्युतीय कारको क्रेज बढेसँगै पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात निकै खुम्चेको छ । यसका बाबजूद दुई पेट्रोलबाट चल्ने एसयूभी टप पाँच मोडलमा पर्न सफल भएका छन् ।
सन् २०२३ जनवरीदेखि सेप्टेम्बर १५ तारिखसम्म आयात भएका सवारीसाधनको आधारमा सबैभन्दा धेरै आयात भएका ५ एसयूभी यस प्रकार रहेका छन् ।

५. मारुती सुजुकी ब्रेजा : सुजुकीको सर्वाधिक सफल एसयूभी ब्रेजा नयाँ जेनेरेशनमा आएसँगै ग्राहकले थप मन पराएका छन् । विद्युतीय कारको बिक्री बढ्दा एकै पटक ठूलो नोक्सानी व्यहोर्ने मोडल ब्रेजा पनि हो । त्यसैले जनवरीदेखि सेप्टेम्बर १५ तारिखसम्ममा २२१ यूनिट मात्रै ब्रेजा आयात हुन सकेको छ ।
कम्पनीले नयाँ ब्रेजामा अत्याधुनिक फिचर लोड गरेर ल्याएको छ । अगाडिको फेसिया र पछाडिको भागमा पनि निकै परिवर्तन भएर आएको ब्रेजामा रिडिजाइन गरिएको सी–पिल्लर, बाक्लो बडी क्लाइडिङ, नयाँ १६ इन्चको अलोय ह्वील, इलेक्ट्रीक सनरुफ तथा सार्क फिन एन्टेन पाउन सकिन्छ ।

इन्टेरियरमा एप्पल कार प्ले तथा एन्ड्रोइड अटोसहितको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, टेलिस्कोपिक एड्जस्टमेन्ट गर्न सकिने नयाँ डिजाइनको स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, वायलेस चार्जिङ, एम्बियन्ट लाइट, रियर एसी भेन्ट, हेडअप डिस्प्ले, सनरुफ जस्ता फिचर छन् ।
सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा पाउन सकिन्छ ।
मारुती सुजुकी ब्रेजामा १.५ लिटर क्षमताको इन्जिन छ । सेग्मेन्टकै सबैभन्दा ठूलो १४८२ सीसी क्षमताको चार सिलिण्डर इन्जिनले १०२ ब्रेकहर्स पावर र १३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । सिजी मोटोकर्पले ब्रेजाको सुरूआती मूल्य ४४ लाख ९९ हजार तोकेको छ ।
४. हुन्डाई क्रेटा : सन् २०२० मा सेकेन्ड जेनेरेशनको रूपमा इन्टेरियर र एक्स्टेरियरमा व्यापक परिमार्जन गरी आएदेखि नै निरन्तर सफल हुन्डाई क्रेटाको बिक्रीमा पनि इलेक्ट्रीकले धक्का दिएको छ । सन् २०२३ को सेप्टेम्बर १५ तारिखसम्म ३३३ यूनिट क्रेटा आएत भएको छ ।

आयातमा आएको कमीको कारण क्रेटा दोस्रो स्थानबाट चौथो स्थानमा झरेको छ । मिडसाइज एसयूभीको ट्रेन्ड सेटर मोडलको रूपमा लिइने हुन्डाई क्रेटामा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल इन्जिन पाउन सकिन्छ । यसमा रहेको पेट्रोल र डिजेल इन्जिनले समान ११५ पीएस पावर प्रदान गर्छ । साथै, सिक्स स्पीड म्यानुअल, सिक्स स्पीड आइएमटी, सेभेन स्पीड डुअल क्लच अटोमेटिक गियरबक्स मध्ये ग्राहकले एउटा आफूलाई सहज लाग्ने छनोट गर्न पाउने छन् ।
ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, माउन्टेड कन्ट्रोलसहितको स्टीयरिङ ह्वील, ६ वटा एयरब्याग लगायतका फिचर पाउन सकिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको सुरूआती मूल्य ५२ लाख ९६ हजार तोकेर बिक्री गर्दै आएको छ ।
३. एटो-३ : अहिले बजारमा सर्वाधिक चर्चा भइरहेको मोडल बीवाइडी एटो ३ हो । स्पोर्टी डिजाइन, फिचर लोडड क्याबिन र विद्युतीय भएकै कारण यसको चर्चा बढी भएको हो । सन् २०२३ मा कम्पनीले ५५० यूनिट एटो–३ नेपाल ल्याएको छ ।

अहिले एटो–३ विभिन्न तीन भेरियन्टमा बिक्री हुँदै आएको छ । तर, यसको एड्भान्स र सुपेरियर भेरियन्टमा मात्रै ग्राहक देखिन्छन् । सुरूमा आएको १५० किलोवाट क्षमताको मोटरमा भने एटो ३ अहिले आएको छैन । अहिले दुई भेरियन्टमा एटो–३ किन्न पाइन्छ ।
कम्पनीले बिक्री गर्ने दुई भेरियन्ट मध्ये एउटामा ५० किलोवाट आवर क्षमताको ब्याट्री छ भने अर्कोमा ६० किलोवाट आवरको ब्याट्री छ । दुवै भेरियन्टमा एउटै १०० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । साइमेक्स इंकले एटो–३ को सुरूआती मूल्य ५५ लाख ९९ हजार तोकेको छ ।
२. जेडएस ईभी : मोरिस ग्यारेज (एमजी)को इलेक्ट्रीक एसयूभी जेडएस ईभी नेपालमा निकै सफल मोडल हो । सरकारको कर नीतिको कारण समय समयमा अफ्ठ्यारोमा पर्दै आएको जेडएस ईभी सर्वाधिक आयात भएको मोडलको सूचीमा दोस्रो स्थानमा रहेको छ । सन् २०२३ को सेप्टेम्बर १५ सम्ममा ७४० यूनिट जेडएस ईभी आयात भएको छ ।

९ महिनाभन्दा कम अवधिमा आयात भएको जेडएस ईभी बीवाइडी एटो–३ भन्दा १९० यूनिट धेरै हो । एमजी जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ ।
प्रिमियम क्याबिन, लग्जरी फिचर र डिसेन्ट लुक्सको कारण एमजी जेडएस ईभी नेपालमा सफल हुँदै आएको छ । विगत ४ वर्षदेखि नेपालमा उपलब्ध जेडएस ईभी सुरक्षा फिचरमा पनि अब्बल छ । जेडएस ईभीको मूल्य पारामाउन्ट मोटर्सले ५२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
१. नेक्सन : टाटा नेक्सन इलेक्ट्रीक र पेट्रोल दुवै भर्सनमा उपलब्ध एसयूभी हो । सिप्रदी ट्रेडिङले आधिकारिक रूपमा बिक्री गर्दै आएको नेक्सन ईभीको बिक्री राम्रो भएकै कारण सर्वाधिक आयात र बिक्री हुने एसयूभी बनेको हो । टाटाले पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन ४२ यूनिट आयात भएको छ । त्यस्तै नेक्सन ईभी भने १ हजार १८० यूनिट आयात भएको देखिन्छ । जम्मा नेक्सन १ हजार २२२ यूनिट आयात भएको छ ।

टाटा नेक्सन पेट्रोलमा १.२ लिटर क्षमताको टर्बो इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२० पीएस पावर प्रदान गर्छ । त्यसैगरी इलेक्ट्रीक नेक्सनमा १०० किलोवाट क्षमताको मोटर छ ।
नेक्सन ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । कम्पनीले ३०.२ किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा नेक्सन प्राइम र नेक्सन म्याक्स मोडल उपलब्ध गराएको छ । यी दुवै मोडलमा अन्य भेरियन्ट पनि ग्राहकले पाउने छन् । सुरूआती भेरियन्टको मूल्य ४१ लाख ४९ हजारबाट नेक्सन ईभी किन्न पाइन्छ ।

