काठमाडौं । भारतीय कम्पनी टाटा पावरले नेपालमा पनि विद्युतीय सवारीसाधनको लागि आवश्यक चार्जिङ पूर्वाधार निर्माण गर्ने तयारी थालेको छ । कम्पनीले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आवस्यक स्थानको पहिचान गरी चार्जिङ नेटवर्क बनाउने योजना अगाडि बढाएको हो ।
कम्पनीले भारतमा जस्तै नेपालमा पनि ठूलो चार्जिङ नेटवर्क विस्तार गर्ने योजना तयार पार्दै नेपालमा रहेको आफ्नो आधिकारीक साझेदार सिप्रदी ट्रेडिङसँग सहकार्य गर्ने प्रस्ताव अगाडि बढाएको बुझिएको छ । सिप्रदी ट्रेडिङ टाटाका प्यासेन्जर र कमर्शियल सवारीसाधनको आधिकारीक बिक्रेता हो ।
‘अहिले सम्भाव्यता अध्ययन भइरहेको हो । यदि यहाँ प्रतिफलको ग्यारेन्टी हुने देखियो भने चार्जिङ पूर्वाधर निर्माण गछौं । त्यसको लागि टाटा पावरले प्रतिफल आउने देख्नु पर्छ’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।
अहिले नै कुन मितिबाट चार्जिङ पूर्वाधारमा काम सुरु हुन्छ भन्ने एकिन भएको छैन । तर, यहाँ जुन हिसावले ईभीको बिक्री हुँदै आएको छ, त्यस हिसावले चाँडै कुनै निर्णय हुने सम्भावना भने देखिन्छ । नेपाल सरकारले विद्युतको ट्यारीफ हेरफेर गरेर २० प्रतिशतको नाफा सिलिङ बढाउने तयारी भइरहेको समयमा चार्जिङ नेटवर्क विस्तार गर्ने टाटा पावरको योजना देखिन्छ ।

भारतकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क निर्माण गरिरहेको टाटा पावरको नेपाल प्रबेश हुने हो भने फास्ट चार्जरमा ठूलो परिणाम देखिने जानकारहरुको भनाइ छ । अहिले टाटाले निर्माण गरेका फास्ट चार्जमा टाटाका मात्रै गाडी चार्ज हुँदै आएका छन् । तर, ब्यवसायीक नेटवर्कमा भने सबै सवारीसाधन चार्ज गर्न पाइने छ ।
टाटा पावरको भारतमा उपस्थिति
टाटा पावरले भारतमा बढ्दो ईभीको माग र बजार सम्भावनालाई हेर्दै सन् २०२८ सम्ममा २५ हजार पब्लिक चार्जिङ स्टेशन बनाउने घोषणा गरेको छ । कम्पनीले पहिलो चरणमा सन् २०२४ को अन्त्यसम्ममा ७ हजार ईभी चार्जिङ पोइन्ट बनाउने योजना अघि बढाएको हो ।
सन् २०१८ बाट ईभी चार्जिङ पूर्वाधारमा काम गरिरहेको टाटा पावरले सेप्टेम्बर २०२३ सम्ममा ५० हजार होम चार्जर र ४ हजार ७३० वटा पब्लिक चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

कम्पनीले सार्वजनिक बसको लागि विभिन्न सहरमा २८० वटा चार्जिङ पोइन्ट स्थापना गरेको जनाएको छ ।
टाटा पावरले चार्जिङ स्टेशनसँगै इजेड मोवाइल एपको समेत विकास गरेको छ । जसको सहायताले नजिकको चार्जिङ पोइन्ट तथा रियल टाइम उपलब्धता तथा चार्जिङ स्टाटसको जानकारी दिन्छ ।
नेपालमा पनि टाटाले करिब ३ हजार होम चार्जर तथा २ दर्जन फास्ट चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । यी चार्जरको उपलब्धता तथा लोकेसनको बारेमा टाटा मोटर्सको इजेड एपले सजिलै जानकारी दिन्छ ।

