जाडो छल्न मोटरसाइल किन्ने पैसामा पाइन्छ नयाँ कार

काठमाडौं । पुस महिना चलिरहेको छ । चिसो मौसममा न्यानोसँग गाडीमा यात्रा गर्ने धेरैको रहर हुनसक्छ । तर, सबैसँग कार किन्न सक्ने आर्थिक हैसियत हुँदैन । अब मोटरसाइकल किन्न पुग्ने पैसा साथमा र नियमित आम्दानीको स्रोत छ भने कार चढ्न सकिने भएको छ ।

बजारमा विद्युतीय कारको संख्या वृद्धिसँगै कम डाउन पेमेन्ट र थोरै मासिक किस्ताको अप्सन ग्राहकलाई उपलब्ध हुन थालेको छ । सुरुमा धेरै रकम डाउन पेमेन्ट गर्नुपर्दा आवश्यक हुने मानिसले पनि कार किन्न हिच्किचाउँथे ।

अहिले बजारमा ग्राहकलाई साना कारमा थुप्रै छनोट उपलब्ध हुँदै गएको छ । एमजी, सेरेस, विलिङ, टाटादेखि नेटासम्मले सामान्य मोटरसाइकल किन्ने रकम डाउन पेमेन्ट गर्दा कार किन्न पुग्ने स्कीम दिएका छन् ।

कम्पनीहरुले ग्राहकको आवश्यकता पुरा गर्न र आफ्नो ब्राण्डका गाडीले बजारमा राम्रो प्रदर्शन गरेको देखाउन पनि थोरै डाउन पेमेन्टदेखि विविध फाइदाका स्कीम दिइरहेका हुन् ।

थोरै डाउन पेमेन्ट

केन्द्रिय बैंकले विद्युतीय कार किन्दा ब्यक्ति र संस्था दुबैको लागि मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा पुग्ने ब्यवस्था गरेको छ । तर, पेट्रोल कारमा ब्यक्तिको हकमा ५० प्रतिशत र संस्थाको हकमा ७० प्रतिशत कर्जा सुविधा पाउने ब्यवस्था गरेको छ ।

थोरै डाउन पेमेन्ट र मासिक पेट्रोल हाल्ने खर्चमा केही रकम थप गरेर किस्ता तिर्ने योजना बनाएकाहरुले मोटरसाइकल छाडेर साना ईभी किन्न थालेको पाइन्छ । बजारमा मोटरसाइकलको बिकल्पमा उपलब्ध साना कार मध्ये एमजी कोमेट ईभी अहिले चर्चामा छ ।

एमजी कोमेट दुई भेरियन्टमा उपलब्ध छ । त्यसमध्ये इन्ट्री भेरियन्टको मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो गाडी किन्न चाहने मानिसले ३ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ ।

मासिक किस्ता कति ?

मासिक किस्ता कति पर्छ भन्ने कुरा बैंकले लगाउने ब्याजदरमा भरपर्छ । अहिले केही ठूला बैंकले ईभीको लागि ९.५ देखि १०.५ प्रतिशतमा ७ वर्षसम्म परिवर्तन नहुँने ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएका छन् । यहि व्याजदरमा एमजी कोमेट किन्ने हो भने मासिक २४ हजार ३०० हाराहारी रकम तिर्नु पर्छ ।

एमजी कोमेटमा १७ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा १६० देखि १७० किलोमिटर रेन्ज दिने सडक परिक्षणबाट पुष्टि भइसकेको छ । यसलाई मासिक औषत १२०० किलोमिटर गुडाउँदा केबल १ हजार २०० रुपैयाँको मात्रै विद्युत खपत हुन्छ । त्यसैले मोटरसाइकलमा पेट्रोल हाल्ने र सर्भिसिङमा गर्ने खर्चमा थोरै रकम थपेर किस्ता बुझाउन सकिन्छ ।

अन्यमा पनि यहि स्कीम

एमजीका अलावा अन्य सबै साना ईभी किन्दा ग्राहकले यहि किसिमको फाइदा पाउन सक्नेछन् । त्यसैले मोटरसाइकलको विकल्पमा ईभी किन्छु भन्ने मानिसले पनि निकै सहज तरिकाले ईभी खरिद गर्न सक्नेछन् ।

टाटा टियागो, विलिङ एयर, सेरेस इ वान जस्ता कार एमजी कोमेटका मुख्य प्रतिस्पर्धी मोडल हुन् ।


Back_to_top