काठमाडौं । विद्युतीय कारको उत्पादनमा विश्वभर हजारौं स्टार्टअप कम्पनीहरू लागि परेका छन् । परम्परागत रूपमा कार उत्पादन गर्ने कम्पनीहरूले पनि विद्युतीय कार उत्पादनलाई तीव्रता दिएका छन् ।
अधिकांश पुराना ब्राण्डले सन् २०२६, २०२८ र २०३० सम्मको योजना सार्वजनिक गर्दै आफूहरू विद्युतीय कार उत्पादनमा प्रवेश गरेका छन् । यसले विद्युतीय कार उत्पादनमा तीव्र प्रतिस्पर्धा सुरू भएको छ । यो प्रतिस्पर्धामा स्टार्टअप कम्पनीहरू बलियोसँग बजारमा टिक्न चाहन्छन् ।
त्यसैगरी, पुराना परम्परागत रूपमा कार उत्पादन गर्ने कम्पनीहरू बजारमा आफ्नो प्रभुत्व कायम नै राख्न चाहन्छन् । पुराना कार निर्माता र स्टार्टअप सबैले विभिन्न रेन्जका विद्युतीय कार उत्पादन गरेर बजारमा पठाएका छन् । त्यसले धेरै कार किन्ने मानिसलाई छनोटमा मुस्किल परेको हुनसक्छ ।
यदि, तपाईंं पनि विद्युतीय कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने छनोट गर्न सहयोग पुगोस् भनेर हामीले यो लेख तयार गरेका हौं । जहाँ विद्युतीय कार किन्दा ध्यान दिनु पर्ने मुख्य कुरालाई हामीले उल्लेख गरेका छौं ।
१. कति मूल्य ?
कुनै पनि कार खरिदको लागि तपाईं कति रकम खर्च गर्दै हुनुहुन्छ भन्ने विषयले धेरै हदसम्म कार छनोटमा सहयोग गर्छ । यदि तपाईंको बजेट २० लाख मुनि हो भने तपाईंको छनोट मिनी कार हुनसक्छ ।
होइन, तपाईंको बजेट ३० लाख भित्र हो भने ह्याचब्याक कारहरू तपाईं छान्न सक्नु हुन्छ । यदि, ४० लाख भित्रै विद्युतीय कार खोज्दै हुनुहुन्छ भने इन्ट्री लेभल क्रसओभर मोडलहरू पाउन सक्नुहुन्छ ।
यदि, त्योभन्दा माथि तपाईंको बजेट हो भने अझ धेरै छनोट तपाईंले बजारमा पाउनु हुन्छ । त्यसैले विद्युतीय कार किन्ने योजना बनाउनु अघि आफ्नो बजेट एकिन गर्नुहोस् ।
२. कुन ब्राण्ड ?
अहिले बजारमा चिनियाँ, भारतीय, कोरियन, अमेरिकन र यूरोपियन ब्राण्डका विद्युतीय कार उपलब्ध हुन थालेका छन् । त्यसमा पनि चिनियाँ ब्राण्डको उपस्थिति तीव्र विस्तार हुँदै गएको छ ।
बढ्दो ब्राण्डको उपस्थितिमा आफूले कुनै एक ब्राण्ड छनोट गर्नु पूर्व उसको बिक्री केन्द्र, चार्जिङ पूर्वाधार, पार्टस्को उपलब्धता, सर्भिस सेन्टरको अवस्था जस्ता विषयमा जानकारी राख्नुहोस् । त्यसले तपाईंलाई ब्राण्ड छनोटमा सहयोग पुग्नेछ ।
३. कति रेन्ज भएको गाडी आवश्यक ?
गाडी किन्दा सबैभन्दा धेरै ध्यान दिनु पर्ने विषय गाडीको रेन्ज हो । तपाईं हप्ताको २००÷३०० किलोमिटर मात्रै यात्रा गर्नु हुन्छ भने तपाईंको लागि ठूलो ब्याट्री साइज भएको गाडी आवश्यक पर्दैन ।
होइन, तपाईं गाडीमा धेरै यात्रा गर्नु पर्ने किसिमको काम गर्नु हुन्छ भने तपाईंलाई ठूलो साइजको ब्याट्री भएको कार आवश्यक हुन्छ । त्यसैले त कम्पनीहरूले हरेक मोडलहरू विभिन्न ब्याट्री साइजमा ल्याउँछन् । जति धेरै रेन्ज दिने ब्याट्री हुन्छ, त्यति नै धेरै मूल्य बढी पर्छ । त्यसैले आफ्नो आवश्यकता एकीन गरेर गाडी किन्नु बुद्धिमानी हुन्छ ।
४. कति छिटो चार्ज हुने कार खोज्दै हुनुहुन्छ ?
अहिले बजारमा एसी मात्रै चार्जर लाग्ने र एसी तथा डीसी दुवै चार्ज लाग्ने कारहरू उपलब्ध छन् । तपाईं सधैं घरमा चार्ज गरेकै भरमा आफ्नो आवश्यकता पूरा गर्नु हुन्छ भने तपाईंले साना कार छनोट गर्न सक्नु हुन्छ ।
तपाईंको यात्रा हाइवेमा हुन्छ । कामको सिलसिलामा धेरै यात्रा गर्नुहुन्छ भने तपाईंले डीसी फास्ट चार्जर सपोर्ट गर्ने गाडी किन्नु पर्छ । त्यसैले गाडी किन्नु अघि चार्जिङको विषयमा राम्रो जानकारी लिनु पर्छ ।
५. कस्तो पर्फमेन्स भएको चाहियो ?
अहिले नेपालमा २० किलोवाटदेखि २१० किलोवाट क्षमताका मोटर भएका कारहरू उपलब्ध छन् । तपाईंले यात्रा गर्ने बाटोको अवस्था अनुसार मोटरपावर छनोट गर्नु पर्ने हुन्छ ।
धेरै उकालोमा यात्रा गर्नु हुन्छ भने ठूलो पावर भएको गाडी आवश्यक पर्छ । यदि तराईको समथर भू–भागमा यात्रा गर्नुहुन्छ भने कम पावरले पनि पुग्छ । त्यसैले गाडीको पावरलाई पनि छनोट गर्नु अघि राम्रोसँग बुझ्नु पर्छ ।


