यूरो एनक्यापमा चम्कदै चिनियाँ कार, एक वर्षमा ९ मोडलले पाए फाइभ स्टार

काठमाडौं । सन् २०२३ मा यूरो एनक्याप क्र्यास टेष्टमा १७ चिनियाँ कारहरुको परिक्षण भयो । परिक्षण भएका मध्ये ९ कारले फाइभ स्टार रेटिङ प्राप्त गर्न सफल भएको यूरो एनक्यापले जनाएको छ ।

परिक्षणपछि यूरो एनक्यापले चिनियाँ उत्पादन यूरोपियन ग्राहक लक्षित भएर बनेकोले सुरक्षामा पनि अब्बल सावित भएको जनाएको छ ।

परिक्षणमा ५ स्टार पाउने मोडलहरुमा बीवाइडीका ४ मोडल छन् । यस वर्ष बीवाइडीले डल्फीन, सिल, सिल–यू र टाङ मोडल परिक्षण गराएको थियो । यी ४ वटै मोडलले फाइभ स्टार क्र्यास टेष्ट रेटिङ पाउन सफल भएका हुन् ।

त्यसैगरी एक्सपेनको दुई मोडल G9 रP9 रहेका छन् । एनआईओको EL7 र ET5 ले उत्कृष्ट नतिजा दिएको थियो । त्यस्तै परिक्षणमा स्मार्टको #3 ले पनि फाइभ स्टार रेटिङ पाएको हो ।

यूरो एनक्याप टेष्टमा सबैभन्दा राम्रो नतिजा एनआईओको ET5 ले प्राप्त गरेको थियो । यसले एडल्ट प्यासेन्जर सेफ्टीमा ९६ प्रतिशत, चाइल्डको हकमा ८५ प्रतिशत र सडक यूजरको हकमा ८१ प्रतिशत अंक पाएको थियो ।

नेपालमा समेत बिक्री हुँदै आएको बीवाइडी डल्फीनले एडल्ट प्यासेन्जरको सुरक्षामा ८९ प्रतिशत, चाइल्ड प्यासेन्जरको हकमा ८७ प्रतिशत र सडक प्रयोगकर्ताको सुरक्षामा ८५ प्रतिशत अंक पाएको थियो ।


Back_to_top