काठमाडौं । कोरियन निर्माता हुन्डाईको सर्वाधिक सफल कम्प्याक्ट एसयूभी क्रेटाको इलेक्ट्रीक भर्सन सम्बन्धी टेक्नीकल डिटेल बाहिर आउन थालेको छ । कम्पनीले अबको केही महिना भित्रै बजारमा ल्याउने क्रेटा इलेक्ट्रीकको थोरै विवरण बाहिर आएको हो ।
अहिलेको नियमित क्रेटाको तुलनामा विद्युतीय मोडल निकै यूनिक डिजाइनमा आउने छ । कम्पनीले यसको नयाँ डिजाइन स्केच १ वर्ष अगाडि नै बाहिर ल्याएको थियो । अबभने यसमा रहने मोटर साइज र ब्याट्री सम्बन्धी जानकारी बाहिर आएको हो ।
अटोकार इण्डियाले सार्वजनिक गरेको विवरण अनुसार हुन्डाई क्रेटा इलेक्ट्रीकमा ४५ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । कोरियन कम्पनी एलजी केमले बनाएको लिथियम आयोन ब्याट्री यसमा रहने भएको हो ।
कम्पनीले ब्याट्री साइजको विषयमा जानकारी दिएपनि यसको रेन्जको बिषयमा कुनै कुरा बाहिर ल्याएको छैन । तर, ४५ किलोवाट आवर क्षमताको ब्याट्रीले कम्तीमा पनि ३५० किलोमिटर अन रोड रेन्ज प्रदान गर्ने अनुमान गर्न सकिन्छ । यसमा रहने ब्याट्री अहिले बजारमा उपलब्ध कोनाको भन्दा ठूलो हो ।
हुन्डाई क्रेटा इभीको प्लेटफर्म भने रेगुलर हुन्डाई आइसीई पावर क्रेटामा केही परिमार्जन गरेर प्रयोग हुनेछ । कम्पनीले यसमा कोनाको जस्तै १०० किलोवाट क्षमताको मोटर दिनेछ । उक्त मोटरले १३८ हर्सपावर र २५५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
कम्पनीले इलेक्ट्रीक क्रेटालाई फ्रन्ट ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । यसलाई अल ह्वील ड्राइभ अप्सनमा ल्याउने सम्भावना कम रहेको बताइन्छ ।

