‘नेटा एक्स’ले टक्कर देला जेडएस ईभी र एटो ३ लाई

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी होजोनले विद्युतीय साधन उत्पादनमा आफुलाई बलियो बनाउँदै लगेको छ । सुरुमा बजेट कार उत्पादनबाट अगाडि बढेको कम्पनी अहिले प्रिमियम कार उत्पादनमा केन्द्रित भएको देखिन्छ ।

कम्पनीले नेपाल ल्याउने नेटा एक्समा कुन ब्याट्री र मोटर उपलब्ध हुन्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध स्पेक मध्येकै कुनै एक भर्सन नेपाल आउने छ ।

चीनमा बिक्री हुँदै आएको नेटा एक्समा १२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । नेपाल यही वा योभन्दा कम क्षमताको मोटरमा आउन सक्छ । यसमा सबैभन्दा स्मार्ट फिचरको रुपमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको छ । यसमा ३ वटा स्मार्ट ड्राइभिङ चीप पाउन सकिन्छ ।

होजोन मोटर्सले यसमा ७२.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले अधिकतम ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

नेटा एक्सको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस दिएको छ ।

नेपालमा सिजी मोटर्सले यसको आधिकारीक बिक्री गर्नेछ । अहिले कम्पनीले नेटा एक्सको बुकिङ भने लिइरहेको छ । आगामी बैशाखबाट ग्राहकलाई डेलिभरी दिने योजनासहित कम्पनीले यसको बुकिङ लिएको हो ।

मुख्य प्रतिस्पर्धा

साइजमा निकै ठूलो नेटा एक्स ५२ लाख रुपैयाँ हाराहारी मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यदि ५२ लाख हाराहारी मूल्यमा आउने हो भने यसको प्रतिस्पर्धा बीवाइडी एटो-३ एड्भान्स मोडल, एमजी जेडएस ईभी, सेरस-३ जस्ता मोडलसँग हुनेछ ।

फिचरको आधारमा पनि नेटा एक्सले यी ३ वटै मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top