काठमाडौं । इन्डो-जापानी लगानीमा खुलेको मारुती सुजुकीले सन् १९८३ बाट भारतमा उत्पादन थालेको हो । कम्पनीको पहिलो मोडल मारुती ८०० थियो । पछि त्यसलाई अपग्रेड गरेर अल्टो ८०० बनाइएको हो ।
अल्टो ८०० नामबाट सन् २००० देखि उत्पादन भएको हो । मारुती ८०० वा अल्टो ८०० जुन नाम दिएपनि सारमा गाडी एउटै हो । उसले आफ्नो उत्पादनको ४० वर्ष मनाउन सफल भएको छ । सम्भवत सफलताले भरिपूर्ण धेरै लामो जीवन पाएको एक मोडलको रुपमा विश्व अटो क्षेत्रले यसलाई सम्झिरहने छ ।
यसलाई भारतीय बजारमा सबैभन्दा मन पराइएको कार मान्ने गरिन्छ । पहिलो कार किन्ने भारतीय मध्य ७६ प्रतिशतले अल्टो छनोट गर्ने गरेको यसअघिको विभिन्न तथ्यांकले देखाएको थियो । कम्पनीले अल्टोमा समय सापेक्ष परिमार्जन गर्दै ल्याइरहेको छ ।
निरन्तर एउटै रफ्तारमा बिक्री वितरण हुँदै आएको अल्टो मोडलले भारतमा नयाँ इतिहास बनाएको कम्पनीले जनाएको छ । नेपालमा पनि अल्टोको बिक्री निकै उत्कृष्ट रहेको छ । तर, नेपालमा निजी सवारीसाधनको तुलनामा ट्याक्सीको रुपमा यसको व्यापक प्रयोग हुँदै आएको छ ।
एउटा पुस्ताले देखेको ट्याक्सी
अहिले ३० देखि ४० वर्ष उमेर पुगेका पुस्ताले देखेको ट्याक्सी भनेकै मारुती ८०० वा अल्टो ८०० बन्यो । अहिले पनि हाम्रा सडकमा गुड्ने ९० प्रतिशत ट्याक्सी यही गाडी छ ।

अल्टोमा ७९६ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिन भएको कारण निकै किफायती गाडी मानिन्छ । त्यसैले ट्याक्सी चालकको रोजाइमा परेको हो । जस्तैसुकै कठिन बाटोमा उच्च पर्फमेन्स गर्न सक्ने अल्टोमाको इन्जिनले अधिकतम ६००० आरपीएममा ४७ बीएच पावर र ३५०० आरपीएममा ६९ एनएम टर्क प्रदान गर्छ ।
अब नेपालको हकमा समय बदलिन थालेको छ । नेपालको यातायात प्रणाली प्रदेश सरकार मातहतमा गएको कारण विद्युतीय ट्याक्सीको बहस बढ्दैछ । पुरानो ट्याक्सी फर्नेले ईभी लिन थालेका छन् । त्यसअघि हुन्डाईको इओनलाई पनि ट्याक्सीमा बिक्री गरिएको थियो ।


