के फोर्ड भारत फर्कन चाहन्छ ?

काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले आफ्नो भारतमा रहेको प्लान्ट बेच्ने सम्झौताबाट पछि हटेको जनाएको छ । सन् २०२१ को सेप्टेम्बरमा भारत छोड्ने निर्णय गरेको फोर्डले आफ्नो सबै प्लान्ट बिक्री गर्ने निर्णय गरेको थियो ।

कम्पनीको निर्णय अनुसार सन् २०२२ अगस्टमा फोर्ड इन्डियाले गुजरातको सनन्दमा रहेको प्लान्ट भारतीय अटोमोवाइल ब्राण्ड टाटा मोटर्सलाई बिक्री गरेको थियो ।

तर, त्योभन्दा पनि ठूलो प्लान्ट चेन्नाई थियो । चेन्नाई प्लान्ट करिब ३५० एकरमा फैलिए छ । त्यसलाई पनि बिक्री गर्ने प्रारम्भीक सम्झौंता जीन्दाल समूहको जेएसडब्लु ग्रुपसँग भएको थियो । अब फोर्ड उक्त प्रारम्भीक सम्झौंताबाट पछाडि हट्ने भएको हो ।

जीन्दाल समूहले हालै मात्र एसएआइसी ग्रुपसँग एमजी इन्डियाको ३५ प्रतिशत शेयर खरिद गरेको थियो ।

फोर्डले १०० मिलियन डलरको आफ्नो प्लान्ट नबेच्ने जनाएसँगै फोर्ड भारतमा फेरी फर्कने अनुमान गर्न थालिएको छ । फोर्डको तमिलनाडुमा रहेको प्लान्टको वार्षिक इन्जिन उत्पादन क्षमता ३ लाख ४० हजार र कार उत्पादन क्षमता १ लाख ५० हजार यूनिट छ ।

यसअघि उक्त प्लान्ट खरिद गर्न महिन्द्रा एण्ड महिन्द्रा र ताइवानी ईभी कम्पनी भिनफास्टले समेत इच्छा देखाएका थिए । तर, अब कम्पनीले प्लान्ट बिक्री गर्ने यसअघिको निर्णय रोकेको हो ।

पछिल्लो समयमा भारतीय अटोमोवाइल बजार दु्रत गतिमा बढिरहेको छ । सन् २०४० सम्ममा भारत विश्वकै ठूलो कार बजार बन्ने विभिन्न प्रक्षेपणहरु बाहिर आएको समयमा फोर्ड प्लान्ट बिक्री गर्ने निर्णयमा पुन विचार गर्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

अहिले पनि भारत लगायत दक्षिण एशियामा फोर्डका थुप्रै लोयल कष्टुमर छन् । नेपालमा पनि भारतमा उत्पादन भएका फोर्डका कार निकै चर्चित रहेका छन् ।


Back_to_top