माघ भित्रै ११ स्थानका नयाँ चार्जर संचालनमा आउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको दोस्रो चरणको फास्ट चार्जिङ नेटवर्क अन्तर्गतको ११ स्थानमा माघ महिना भित्रै काम पुरा हुने भएको छ । केही ढिला सुस्ती भएपनि पुसको अन्तिमसम्ममा नै चार्जरहरु आइपुग्ने भएकाले माघबाट संचालनमा आउने प्राधिकरणले जनाएको छ ।

‘हामीले चार्जिङ स्टेशन निर्माणको काम सकेका छौं । अब इक्यूपमेन्ट जडान हुन्छ । माघ अन्तिमसम्ममा ११ स्थानमै काम सक्ने हाम्रो लक्ष्य हो’ चार्जिङ पूर्वाधार निर्माण योजना प्रमुख सागरमणी ज्ञवालीले भने ।

यसअघि जडान भएका धेरै स्थानमा चार्जर नचलेको गुनासो सामाजिक संजालमा आएको विषयमा चाँडै मर्मतको काम हुने ज्ञवालीले बताए ।

‘धेरै जसो स्थानमा चार्जिङ गन भाँचिएको कारण सेवा अवरुद्ध भएको हो । त्यसलाई नयाँ गनले विस्थापन गर्ने काम थालेका छौं । पहिलेको भन्दा बलियो किसिमको गन मगाएका छौं । सायद त्यसपछि समस्या समाधान होल’, योजना प्रमुख ज्ञवालीले मेरोअटोसँग भने ।

प्राधिकरणले निजी क्षेत्रलाई पनि चार्जिङ पूर्वार निर्माणमा लाग्न प्रेरित गर्दै आएको छ । त्यसको लागि चाहिने ट्रान्सफर्मर लगायतका सामाग्री सहज तरिकाले उपलब्ध गराएर काम चुस्तसँग गर्ने वातावरण निर्माण गरिएको उनको भनाई छ ।


Back_to_top