काठमाडौं । अटोमोवाइल टेक्नोलोजीमा विश्वभर दैनिक केहि न केहि नयाँ खोजहरु भइरहेका छन् । विश्व अटोमोवाइल क्षेत्र नै अहिले परिवर्तनको दोसाँधमा उभिएको छ भन्दा फरक पर्दैन ।
उत्पादकहरु इन्टरनल कम्बस्चनको विकल्पमा ईभी उत्पादन, ब्याट्री टेक्नोलोजीमा नयाँ आविष्कार र हाइड्रोज फ्यूल सेलमा पनि नयाँ खोज गरिरहेका छन् । त्यसको अलवा हाइब्रिडमा खोज सुरु भएको वर्षौ भइसकेको छ ।
नेपालमा केही दिन अघि जापनीज कम्पनी निसानले उत्पादन गरेको नयाँ प्रविधि ‘ई-पावर’ भएको एक्सट्रायल बिक्री सुरु भएको थियो । निसानले ई-पावर नाम दिएको यो टेक्नोलोजी पूर्णतया इलेक्ट्रीक हो ।
निसानको ई-पावर टेक्नोलोजीमा इलेक्ट्रीक मोटरसँग पेट्रोल इन्जिन पनि दिइएको छ । तर यसमा रहेको इन्जिनले गाडी गुडाउँदैन । इन्जिनको काम गाडीमा रहेको जेनेरेटरलाई चलाउने र ब्याट्री चार्ज गर्ने मात्रै हो । ई-पावर एक प्रकारको हाइब्रिड पावरट्रेन जस्तै हो ।
निसान एक्सट्रयाल ई-पवार
निसानको भर्खरै नेपालमा बिक्री सुरु भएको ७ सिटे एक्सट्रायलमा ई-पावर टेक्नोलोजीको प्रयोग भएको छ । यसमा भएको इन्जिनले गाडी गुडाउँदैन । गाडी चाहिँ इलेक्ट्रीक पावरले नै चल्ने हो ।
अलह्वील ड्राइभ फङ्सन भएको एक्सट्रायलको अगाडि र पछाडि दुबै एक्सलमा इलेक्ट्रीक मोटर छ । यसको अगाडिको मोटरले १५७ पीएस तथा पछाडिको मोटरले २१३ पीएस पावर जनेरेट गर्छ । गाडीको चक्कालाई यहि दुई मोटरले मात्र गुडाउन सक्छ ।
कम्पनीले यसमा दुईवटा इलेक्ट्रीक मोटरको अलावा १.५ लिटरको भीसी टर्बो पेट्रोल इन्जिन पनि दिएको छ । उक्त इन्जिनले १५३ पीएस पावर जेनेरेट गर्छ । तर, इन्जिनको एकमात्र काम भनेको गाडीमा रहेको जेनेरेटरलाई चलाउनु हो ।

गाडीमा रहेको ब्याट्रीमा चार्ज सकिन लागेपछि जेनेरेटरको माध्यमबाट ब्याट्री चार्ज गर्न यसको प्रयोग हुन्छ । साथै, आवश्यक परेको खण्डमा सिधै इलेक्ट्रीक मोटरमा पनि पावर सप्लाई गर्छ ।
निसानले एक्सट्रायलमा २.१ किलोवाट आवरको ब्याट्री दिएको छ । यसले २८ किलोमिटर रेन्ज दिन्छ । ब्याट्री पावरबाट करिब २० किलोमिटर गुडेपछि इन्जिन आफै स्टार्ट हुन्छ । अनि ब्याट्री रिचार्ज सुरु हुन्छ ।
गाडी गुडिरहेकै अवस्थामा ५ मिनेट भित्र नै यसमा रहेको ब्याट्री फुल चार्ज हुन्छ । यदि गाडी ओरालोमा गुडिरहेको छ भने, रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले नै ब्याट्री रिचार्ज गर्छ ।
सिस्टमले कसरी काम गर्छ ?
ई-पावरले ठूलो साइजको एसयूभी चलाउँदा पनि परम्परागत हाइब्रिड इन्जिन भन्दा अत्यधिक शान्त अनुभव गराउँछ । यसलाई शहरी क्षेत्रमा कमदेखि मध्यम गतिमा चलाउँदा यसको मोटर ब्याट्री पावरबाट मात्रै चल्छ । जब, चालकले एक्सीलेटर छाड्छ तुरुन्तै ईभीमा जस्तै रिजेनेरेटिभ सिस्टमले ब्याट्री रिचार्ज पनि हुन्छ ।

यदि, यसलाई हाइवेमा जस्तै हाइस्पीडमा गुडाउने हो भने यसमा रहेको पेट्रोल इन्जिन स्टार्ट हुन्छ । त्यसपछि जेनेरेटरको माध्यमबाट गाडीमा रहेको दुबै मोटरमा पावर दिनुको साथै ब्याट्री पनि रिचार्ज गर्छ ।
तर, तपाईले स्ट्रङ एक्सीलरेसन गर्नु भएको छ भने यसमा रहेको जेनेरेटरले उत्पादन गरेको सबै विद्युत सिधै इलेक्ट्रीक मोटरमा पठाउँछ साथै व्याट्रीबाट पनि पावर लिन्छ । यसमा रहेको कन्ट्रोल सिस्टमले जे आवस्यक हो, त्यही अनुसार यी सबै काम मिली सेकेन्डमै पुरा गर्छ ।
निसान ई-फोर्स ४ ह्वीलड्राइभ टेक्नलोजी
एक्ट्रायलमा अगाडि र पछाडि दुबै साइडमा इलेक्ट्रीक मोटरले ड्राइभ गर्ने भएकोले यसको अलह्वील ड्राइभ फङ्सन अझै उत्कृष्ट छ । यसमा रहेको कन्ट्रोल सिस्टमले चारैवटा चक्कामा आवश्यक्ता अनुसार पावर दिने भएकोले सबै चक्कामा म्याक्सिमम ग्रिप पाउन सकिन्छ ।
जस्तोसुकै बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्ने यो सिस्टमको सहयोगले कर्नरमा समेत आफूले चाहेकै लाइनमा गाडी गुडाउन सकिन्छ । अझ हिउले ढाकेको चिप्लो बाटोमा समेत चारै चक्काको ग्रिपका कारण कुनै समस्या हुँदैन ।

ई-फोर्सको अर्को फाइदा भनेको आवश्यक अनुसार गाडी रोक्दा पनि अगाडि र पछाडि फरक फोर्सको रिजेनेरेटिभ सिस्टम एक्टीभ हुनु हो । जसको सहायताले गाडी रोकिदा वा उठाउँदा सवार यात्रुलाई मोसन फिल हुँदैन ।
निसानको ई-पावर एक्ट्रायलले ईभीको जस्तै ड्राइभिङ फन दिन्छ । साथै, यसमा रहेको ई-फोर्स अलह्वील ड्राइभ सिस्टमले यात्रुहरुलाई जस्तोसुकै बाटोहरुमा पनि आरामदायी यात्रा गराउन मद्दत पुग्छ । नयाँ प्रविधिको हाइब्रिड पावरट्रेन भएकोले ७ सिटे एसयूभी भएता पनि निसान एक्सट्रायलले १ लिटर पेट्रोल बाट २० किलोमिटरसम्मको माइलेज दिन्छ ।


