सफल सेग्मेन्टमा थपिए प्रतिस्पर्धी, ४ मोडल बीच टक्कर हुने

काठमाडौं । विद्युतीय कार बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ । सन् २०२२ सम्म एकाध प्रोडक्टको भरमा विद्युतीय कार बजार विस्तार हुँदै आएकोमा अहिले भने कडा प्रतिस्पर्धा सुरू भएको हो ।

वार्षिक १०/१२ हजारको कार बजारमा ईभीले ७५ प्रतिशत माथि बजार हिस्सा ओगट्ने अवस्था आएको देखिन्छ । त्यसको मुख्य कारण फिचर लोडेड ईभी प्रति जनविश्वास बढ्दै जानु पहिलो कारण हो ।

हुन्डाई कोना, एमजी जेडएस ईभी जस्ता मोडलबाट विद्युतीय कारको बिक्री विस्तार भएको हो । त्यसपछि किया निरो, टाटा नेक्सन ईभी, बीवाइडी एटो–३ जस्ता उत्पादनले ग्राहकको मन जित्न सफल भए । कोरियन उत्पादन कोना र निरो मूल्यको कारण पछाडि परे । निरन्तर प्रतिस्पर्धामा आफूलाई बलियोसँग उभ्याएको एमजी अहिले पनि कडा प्रतिस्पर्धामै छ ।

जे होस्, पछिल्ला ५/६ वर्षदेखि चर्चा चुलिएको विद्युतीय कार बजारमा अहिले १३ लाखदेखि २ करोड ३० लाखसम्मका कार बिक्री वितरण हुँदै आएका छन् । यी कारहरू मध्ये तीव्र प्रतिस्पर्धामा रहेका ४ मोडलका विषयमा हामीले यहाँ चर्चा गर्न लागेका हौं ।

चार मोडलमा चर्को प्रतिस्पर्धा

बजारमा तत्कालको बिक्रीलाई आधार बनाएर हेर्दा केबल बीवाइडी एटो-३ र एमजी जेडएस ईभी बीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी दुईमा पछिल्लो एक वर्षको आयातलाई आधार मान्ने हो भने एटो-३ निकै अगाडि निस्केको छ ।

बीवाइडीले १ हजार ५०० यूनिटभन्दा धेरै कार आयात गर्दा एमजीले १ हजारभन्दा केही यूनिट बढी कार आयात गरेको छ ।

बीवाइडी एटो–३ आफ्नो डिजाइन, पर्फमेन्स र प्रिमियम क्याबिनको कारण चर्चामा रहन सफल भयो । कम्पनीले यसलाई बजार सुहाउँदो मूल्यमा ल्याएको कारण पनि ठूलो परिमाणमा बिक्री सम्भव भएको हो ।

झट्ट हेर्दा नै पर्फेक्ट लाग्ने बडी डिजाइन र साइजको कारण एमजी जेडएस ईभीले निरन्तर सफलता पाउन सकेको हो । सन् २०१९ को अन्तिममा नेपाल आएको जेडएस ईभीलाई करले सहयोग नगरेको बाहेकको अवस्थामा निकै उत्कृष्ट बिक्री पाउन सफल भएको थियो ।

यी दुवै मोडलको प्रतिस्पर्धामा बीचमा सेरेस र ओमोडा ब्राण्ड प्रवेश गरेका छन् । कात्तिकमा आएको सेरेसले सडकमा बलियो उपस्थिति बनाएको छ । नेपालमा बिक्री सुरू नै नभएको ओमोडाले पनि ग्राहकलाई आफूतिर तान्न थालेको सहजै अनुमान लगाउन सकिन्छ ।

मूल्यमा टक्कर

बीवाइडी डल्फिन ५५ लाख ९९ हजार र ६५ लाख ८८ हजार मूल्य तोकेर बिक्री हुँदै आएको छ । कम्पनीले सानो ब्याट्री र ठूलो ब्याट्री भएको मोडलको मूल्यमा १० लाख रुपैयाँ फरक पारेर बिक्री गर्दै आएको हो ।

एमजीले जेडएस ईभी ५२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने जेडएस ईभीको मूल्य लामो समयदेखि लगभग उस्तै कायम हुँदै आएको छ ।

सेरेस-३ ईभीको मूल्य पनि ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको मूल्य र एमजी जेडएस ईभीको मूल्य एउटै राखिएको छ ।

नयाँ ब्राण्ड ओमोडाको ई-५ एसयूभी नेपालमा मूल्य निर्धारण गरेर बुकिङ खुला भएको छ । यसको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको हो ।

ब्याट्री र पावर

गाडी जत्रो भए पनि यी तीनवटै गाडीमा समान पावर ९९ वा १०० किलोवाट क्षमताको मोटर दिइएको छ । ब्याट्रीमा भने फरक पाउन सकिन्छ ।

बीवाइडीले एटो-३ मा ६०.४९ र ४९.९२ किलोवाट आवरको ब्लेड ब्याट्री दिएको छ । बीवाइडीले आफ्नै सहायक कम्पनी फिनड्रिम्सले उत्पादन गरेको ब्याट्री प्रयोग गरेको हो ।

सेरेसमा ५२.७ किलोवाट आवरको ब्याट्री छ । त्यसैगरी एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको ब्याट्री दिइएको छ । यी दुबै ब्याट्री सीएटीएलले उत्पादन गरेको हो ।

ब्याट्रीको मामलामा सबैभन्दा ठूलो ओमोडा ई-५ मा प्रयोग भएको छ । यसमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री छ ।


Back_to_top