काठमाडौं । यामाहाले इतिहासकै ठूलो रिकल गरेको छ । कम्पनीले आफ्नो वेस्ट सेलिङ स्कुटरको तीन लाख यूनिट रिकल गरेको हो ।
यामाहाले भारतमा उत्पादन भएको यामाहा फसिनो १२५ र रेजेडआर १२५ को रिकल गरेको हो । स्कुटरको सुरक्षा फिचरमा समस्या देखिएको भन्दै कम्पनीले ३ लाख यूनिट स्कुटर रिकल गरेको जनाएको छ ।
कम्पनीले जनवरी २०२२ देखि ४ जनवरी २०२४ सम्म उत्पादन भएको ३ लाख यूनिट स्कुटर रिकल गरेको छ ।
यामाहाले विक्री गर्ने दुबै १२५ सीसी स्कुटरमा समान इन्जिनका साथै धेरै कम्पोनेन्ट सेयर भएको छ । यी दुवै स्कुटरमा प्रयोग भएको ब्रेक लिभरमा समस्या देखिएपछि कम्पनीले रिकल गरेको हो ।
कम्पनीले सो समय अवधिमा उत्पादन भएको तीन लाख यूनिट स्कुटरको निःशुल्क ब्रेक लिभर रिप्लेस गर्ने बताएको छ ।
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू राइडले नेपालमा यी दुवै स्कुटर बिक्री गर्दै आएको छ । यामाहा इन्डियाले निर्यात भएका स्कुटरको अवस्थाका बारेमा भने कुनै जानकारी दिएको छैन ।
नेपाली आयातकर्ता एमएडब्लू राइड अनुसार अहिलेसम्म नेपालमा यस्तो किसिमको समस्या आएको कुनै जानकारी छैन ।
‘भारत र नेपालमा बिक्री हुने मोडलमा धेरै कुरा फरक छ । हामीले अहिलेसम्म यस्तो समस्या लिएर आएको एउटा पनि ग्राहक भेट्टाएका छैनौं । नेपाल आएका प्रोडक्टमा समस्या देखिएको भए कम्पनीले नै हामीलाई जानकारी दिन्थो । त्यो जानकारी पनि आएको छैन,’ कम्पनी स्राेतले मेरोअटोसँग भने ।
यामाहा रेजेडआर १२५ नेपाली बजारमा यामाहाको सबैभन्दा धेरै बिक्री हुने स्कुटर हो ।


