काठमाडौं । नेपालमा चर्चित ह्याचव्याकको पहिचान बनाएको बीवाइडी डल्फीनको नयाँ ‘होनर एडिसन’ फेब्रुअरी २३ तारिखमा चीनमा सार्वजनिक हुने भएको छ । कम्पनीले अहिलेको भन्दा ठूलो ब्याट्री र नयाँ कलर अप्सनको साथ ‘होनर एडिसन’ ल्याउन लागेको हो ।
ब्राजिल, यूरोप, थाइल्याण्ड, नेपाल जस्ता देशमा सफलताको झण्डा गाडेको डल्फीन चीनमा पनि निकै सफल मानिन्छ । अहिले मासिक ४० हजार यूनिट डल्फीन उत्पादन र बिक्री बितरण हुँदै आएको छ ।
नयाँ लङ रेन्ज भेरियन्टमा ६० किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५२० किलोमिटर चलाउन सकिने सीएलटीसीले जनाएको छ ।
रेगुलर मोडलको जस्तै ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने नयाँ भेरियन्टको साइज पनि समान लम्बाई ४१२५ एमएम, चौडाई १७७० एमएम, उचाई १५७० एमएम र ह्वीलवेस २७०० एमएम रहेको छ ।
कम्पनीले यसमा नयाँ कलर अप्सनहरु पनि थप गरेर ल्याउन लागेको हो ।


