काठमाडौं । नेपालमा पछिल्ला महिनाहरुमा ८० प्रतिशतसम्म इलेक्ट्रीक चार पाङ्ग्रे सवारीसाधन आयात हुन थालेका छन् । बजारमा ईभी बाहेक अन्य उत्पादनको चर्चा कम हुँदै गएको छ । यस्तोमा हुन्डाई र निसानले पेट्रोल एसयूभी ल्याउने तयारी गरिरहेका छन् ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्सटर एसयूभीको नेपालभर एकसाथ बिक्री सुरु गरेको छ । कम्पनीले आइतबारदेखि नै डिलरहरुमा एक्सटर माइक्रो एसयूभी पठाएको हो ।

त्यसैगरी कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल क्रेटाको फेसलिफ्ट मोडल पनि नेपाल ल्याउने तयारी थालेको छ । भारतीय बजारमा उच्च माग रहेको कारण छिटोमा पनि मे वा जुन महिनामा मात्रै फेसलिफ्ट क्रेटा नेपाल आउने छ ।
त्यसैगरी निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले आफ्नो सर्वाधिक सफल मोडल म्याग्नाइटको फेसलिफ्ट नेपाल ल्याउने छ । आगामी अगष्टमा भारतमा बिक्री सुरु भएसँगै म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।


