काठमाडौं । विश्वकै सर्वाधिक ठूलो ‘न्यू इनर्जी भेहिकल’ निर्माता देश चीनमा कम्पनीहरु बीच मूल्य कटौतीको होडबाजी नै चलेको छ । सन् २०२३ मा नै कार उत्पादकहरुले अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै चिनियाँ उद्योग मन्त्रालयले कम्पनीका प्रतिनिधि बोलाएर चेतावनी नै दिएको थियो ।
त्यतिवेल टेस्ला सहितका १७ कम्पनीले मूल्य घटाउने प्रतिस्पर्धामा आफुहरु नलाग्ने बताएका थिए । तर, २०२४ को सुरुवातसँगै कम्पनीहरुले मूल्य कटौती गर्ने योजना अगाडि सारेका छन् । उनिहरुको वार्षिक कार्ययोजनामा नै मूल्य कटौती समाबेस भएको बताइन्छ ।
एक्सपीङ ल्यू फाइनान्सका अनुसार हरेक कम्पनीले आफ्नो अलग रणनीति बनाएका हुन्छन् । कम्पनीको लक्ष्य पुरा गर्न फरक पाटोबाट बजार अध्ययन गरेर नै मूल्य कटौतीका विषयहरु निर्धारण हुने गर्छन् ।
चिनियाँ नयाँ वर्षको सुरुवातसँगै मूल्य कटौतीको श्रृखला सुरु भइसकेको छ । बीवाइडीले आफ्नो क्वीन प्लस होनर एडिशनमा नै ११ हजार डलर मूल्य कटौती गरेर बजारमा ल्याएको छ ।
बीवाइडीले अहिले बिक्री गरिरहेकै मूल्यमा ठूलो ब्याट्री साइज भएको लङ रेन्ज डल्फीन बजारमा ल्याउने जनाइएको छ । त्यसैगरी विलिङले विङ्गो मोडलको मूल्य १० प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ ।
चांगनले क्यूवान ए–०५ को मूल्य २ हजार डलरले कटौती गर्ने घोषणा गरेको छ । एनआइओले आफ्ना सबै उत्पादनमा २२ हजार यूवान छुटको घोषणा गरेको छ । एमजी, मेक्सस जस्ता इलेक्ट्रीक कार उत्पादक एसएआईसीले पनि मूल्य कटौती गर्ने जनाएको छ ।
चिनियाँ रेक्यूरिटी जर्नलका अनुसार चीनमा गाडी उत्पादकले प्योर इलेक्ट्रीक भन्दा पनि प्लगइन हाइब्रिड कारमा धेरै मूल्य कटौती गर्न लागेका हुन् । प्योर ईभीमा भने सन् २०२४ मा १० प्रतिशत हाराहारीले मूल्य कटौती हुने प्रक्षेपण गरिएको छ । तर, प्लगइन हाइब्रिडमा भने १५ देखि २० प्रतिशतसम्म मूल्य कटौती हुने उसको दावी छ ।
चीनको पिङ यन सेक्यूरिटीजको अध्ययन अनुसार ‘न्यू इनर्जी भेहिकल’ उत्पादकहरु आफ्नो ग्रोथ रेट बढाउनु पर्ने दवावमा परेका छन् । उनिहरु आफ्नो बजार हिस्सालाई जोगाइराख्न पनि मूल्य कटौतीको बाटोमा अग्रसर भएका हुन् ।
कम्पनी दवावमा ग्राहकलाई फाइदा
आफ्नो ग्रोथ र बजार हिस्सालाई टिकाउन र बढाउन कम्पनीहरु बीच तिब्र प्रतिस्पर्धा चलिरहँदा उपभोक्तालाई भने फाइदा पुगेको छ । चिनियाँ ब्राण्डहरुले नेपालमा पनि रणनीतिक मुभ गरेको कारण त्यसको फाइदा निकट भविष्यमा नेपाली उपभोक्ताले पनि पाउने छन् ।
चिनियाँ उत्पादकहरु कुनै पनि सामानको मूल्य आफ्नो लगाउनेभन्दा पनि बजार माग अनुसार दिने रणनीतिमा हुन्छन् । गाडीको हकमा पनि उनिहरुले त्यहि रणनीति अंगिकार गर्ने देखिन्छ ।
त्यसको उदाहारण जेठ १५ गते परिवर्तन भएको करका दरपछि कायम भएको चिनियाँ इलेक्ट्रीक कारहरुको मूल्यलाई लिन सकिन्छ । १५ देखि २० प्रतिशतको कर वृद्धि हुँदा पनि चिनियाँ ब्राण्डहरुले खासै मूल्य परिवर्तन नगरेर मूल्य बजारमाग अनुसार हुने प्रस्ट संकेत दिएका छन् ।


