के कारण सफल भयो ‘टियागो ईभी’ ? बिक्रीमा राख्यो नयाँ रेकर्ड

काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाल ल्याएको टियागो ईभीले सुरूआती ५ महिनामै १ हजार यूनिटभन्दा धेरै बिक्री गरेर रेकर्ड बनाएको छ । नेपालमा अहिलेसम्म आएको ५ महिनामा नै यो संख्या कुनै पनि कारले भेट्टाउन सकेको छैन ।

टाटा टियागो ईभी भदौ अन्तिममा नेपालमा सार्वजनिक भएको थियो । यसलाई सिप्रदीले असोज पहिलो साताबाट ग्राहकलाई डेलिभरी दिन थालेको थियो । ग्राहकहरूले पहिल्यैदेखि कुरेर बसेको कारण तीव्र गतिमा यसलाई बिक्री गर्न सकिएको कम्पनीको भनाइ छ ।

‘टियागो कार कस्तो छ भन्ने सुरू देखि नै ग्राहकहरूलाई थाहा थियो । ईभीमा टाटाको प्रयोग नेक्सनको सफलताबाट पुष्टि भएको थियो । त्यसैले टियागो नेपाल आउने बित्तिकै ग्राहकहरूले राम्रो प्रतिक्रिया दिए,’ सिप्रदी ट्रेडिङ प्यासेन्जर भेहिकल यूनिटका महाप्रबन्ध शावन्तजंग सिजापतिले भने ।

सिजापतिका अनुसार अहिलेसम्म १ हजार ३५ जना ग्राहकलाई गाडी हस्तान्तरण भइसकेको छ । माघ महिनामा आएको समेत गरेर १ हजार ३७५ यूनिट टियागो ईभी नेपाल आएको छ ।

टियागो ईभीले नेपाल आएको ५ महिनामा पाएको सफलताका पछाडि थुप्रै कारणहरू छन् । ती मध्ये केही कारणका बारेमा चर्चा गरौं ।

सहरी क्षेत्रको लागि पर्फेक्ट : सहरी क्षेत्रमा दैनिक कार्य गर्ने ग्राहकलाई सिटी इलेक्ट्रीक सिटी कार चाहिएको थियो । उनीहरू उपयुक्त विकल्पको खोजीमा रहेको समयमा आएको टियागो ईभीले धेरैको चित्त बुझाउन सफल भयो ।

सहरी क्षेत्रमा यात्रा गर्दा चलाउन सहज र कहिले काहिँ बाहिर जानै परेको खण्डमा पनि सहजै लान सकिने र फास्ट चार्जर सपोर्ट गर्ने भएको कारण उपभोक्ताले यसमा विश्वास गरेका हुन् । टियागो ईभी एउटा उत्कृष्ट फ्यामली ह्याचब्याक हो ।

मूल्य र फिचरमा अब्बल :  इलेक्ट्रीक कार उत्पादन मूल्यको हिसाबले पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा निकै महंगो भए पनि नेपाल सरकारले कम कर लगाएको कारण सस्तो मूल्यमै उपलब्ध भएको छ । सुरूमा २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म मूल्य राखेर यसको बिक्री भएको थियो ।

अहिले सिप्रदीले लङ रेन्ज टियायो मात्रै बजारमा उपलब्ध गराएको छ । कम्पनीले २५ लाख ९९ हजार र २७ लाख ९९ हजार मूल्यको टियागो अहिले बिक्री गर्दै आएको छ । मूल्य अनुसारको उत्कृष्ट फिचरहरू दिएकै कारण धेरैले यसलाई किन्न हतार गरेको देखिन्छ ।

संचालन खर्च कम : हरेक ईभीको सबैभन्दा बलियो पक्ष भनेकै संचालन खर्च हो । पेट्रोलको तुलनामा कयौं गुणा कम खर्च आउने भएको कारण पेट्रोल कार बेचेरै ईभी किन्ने पनि बढ्दै गएका छन् ।

धेरै मानिसले सहरी क्षेत्रमा कामको लागि यात्रा गर्दा खर्च गर्ने मासिक पेट्रोलकोे खर्चले किस्ता, मर्मत जस्ता प्रयोजनमा खर्च गर्न सक्ने भएको कारण ईभी छनोट गरेका छन् । टियागो ईभीको वार्षिक मेन्टिनेन्स शुल्क ४ हजारदेखि ५ हजार भित्रै रहने छ ।

सहज बैंकिङ सुविधा : टियागो मात्रै होइन, सबै प्रकारका ईभी धेरै बिक्री हुनुको मुख्य कारण बैंकिङ सुविधा नै हो । पेट्रोल कार किन्ने ग्राहकले मूल्यको ५० प्रतिशत अनिर्वाय डाउन पेमेन्ट बुझाउनु पर्ने भएको कारण धेरै मानिसले चाहेर पनि गाडी किन्न सकेका छैनन् । तर, ईभीमा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ ।

ईभीमा दिने कर्जा तुलनात्मक रूपमा ब्याजदर पनि कम हुने, बैंक तथा वित्तिय संस्थाले ग्रीन फण्डमा ल्याएका रकम ईभीमा कर्जा दिने जस्ता कारण ईभीको बिक्री बढेको हो । त्यसमा पनि मूल्य कम र सहज बैंकिङ सुविधाको कारण टियागो ईभीले राम्रो संख्यामा बिक्री पाएको हो ।


Back_to_top