काठमाडौं । कियाले ईभी-६ को सफलतासँगै त्यहि प्लेटफर्ममा नयाँ प्रिमियम क्रसओभर मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ क्रसओभरको नाम ‘ईभी-८’ रहने छ ।
कियाले विद्युतीय कार उत्पादनमा निकै आक्रमक रणनीति तयार गरेको छ । कम्पनीले निरो, सोल, ईभी-६, ईभी-९ र ईभी-५ जस्ता मोडल विश्वबजारमा बिक्री गर्दै आएको छ । चाँडै ईभी-४ र ईभी-८ पनि बजारमा ल्याउने चर्चा भइरहेको छ ।
कियाले सन् २०११ मा देखाएको जीटी-१ जस्तै डिजाइनमा देखिएको ईभी-८ निकै प्रिमियम देखिन्छ । कम्पनीले यसको अल ह्वील ड्राइभ भर्सनमा ६०३ हर्सवापर बराबरको शक्ति प्रदान गर्ने इलेक्ट्रीक मोटर दिनेछ ।
त्यसैगरी रियर ह्वील ड्राइभ अप्सनमा १६० किलोवाट क्षमताको मोटर रहने छ । हुन्डाईको नयाँ ‘इन्ट्रिगेटेड मोडुलर आर्किटेक्चर’मा बन्ने यो प्रिमियम कारले पावरफुल डिसी चार्जर सपोर्ट गर्छ ।
ब्याट्री साइज पनि यसमा निकै ठूलो प्रयोग हुने बताइन्छ । कम्पनीले अल ह्वील ड्राइभ भर्सनमा ११३.२ किलोवाट आवर र सिंगल ह्वील ड्राइभमा ईभी-९ मा प्रयोग भएको ९९.८ किलोवाट आवर वा ईभी-६ मा प्रयोग भएको ७७.४ किलोवाट आवरको ब्याट्री रहने छ । यसले सिंगल चार्जमा ८०० किलोमिटरसम्म रेन्ज दिनेछ ।
कियाले सन् २०२४ को अन्तिमसम्ममा यसको ग्लोवल डेब्यू गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । साथै, यसको बिक्री भने २०२६ को सुरुवातबाट मात्रै हुने अनुमान गरिएको छ ।
यसको मूल्य ५० देखि ६५ हजार अमेरिकी डलर आसपास रहने अनुमान गरिएको छ ।

