काठमाडौं । धेरै मादक पदार्थ सेवन गरेका चालकले चलाउनै नमिल्ने कार आउने भएको छ । चिनियाँ अटोमोवाइल कम्पनी जिली होल्डीङले यस्तो प्रविधि जडान भएको कार ल्याउन लागेको हो ।
यो प्रविधिको विकाससँगै सडक सुरक्षामा निकै ठूलो चुनौति कम हुने बताइन्छ । कम्पनीले ल्याएको प्रविधिमा चालकले कति परिमाणमा मादक पदार्थ सेवन गरेको छ भन्ने एकिन गर्छ । ‘ड्राइभर अल्कोहल कन्ट्रोल मेथर्ड डिभाइस इक्कुपमेन्ट एण्ड स्टोरेज’ नाम दिएर जिलीले प्याटेन्ट दर्ता गरेको हो ।
यो टेक्नोलोजीले चालकको अल्कोहल लेवल एकिन गरेर चालकलाई गाडी चलाउन दिने वा नदिने एकिन गर्छ । उक्त प्रविधिले चालकको तस्विर र अन्य डाटावेसको माध्यमबाट ‘अल्कोहल इनटेक’ पत्ता लगाएपछि धेरै पाइएमा गाडी नै स्टार्ट हुँदैन ।
यो टेक्नोलोजीले काम गर्नकोलागि गाडीमा के के परिवर्तन वा नयाँ इक्यूपमेन्ट थप्नुपर्ने हो कम्पनीले बताएको छैन । सम्भवत छिटै जिलीका कारहरुमा ‘ड्राइभर अल्कोहल लेवल डिटेक्सन इक्यूपमेन्ट’ जडान भएर आउने छ ।

