काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसनले ३६ जना चालकलाई र्यालीक्रस र अटोक्रस सम्बन्धी तालिम दिएइको छ । एशोसिएशनले गत शनिबार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ३६ जना चालकलाई तालिम प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआइए) का एशिया प्यासिफिक स्पोर्टस काेअर्डिनेटर विजिता विजेमानेसहित विभिन्न प्रशिक्षकले सहभागीलाई र्यालीक्रस र अटोक्रसमा ड्राइभरको भूमिका, दायित्व, ड्राइभिङ तरिका तथा ट्रयाकबारे सैद्धान्तिकसँगै प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
श्रीलङ्कन प्रशिक्षक विजिता विजेमानले र्यालीक्रस र अटोक्रसको परिचय, अन्तर्राष्ट्रिय चलन तथा नियमहरूका साथै नेपालमा अपनाउन मिल्ने तरिकाहरू र रेसमा प्रयोग हुने झण्डा र सिगनलबारेमा सहभागिलाई जानकारी दिए ।
नेपालका अन्तर्राष्ट्रिय रेसर आशिष भारतीले आफ्नो अन्र्र्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव बाँड्दै रेसमा उपयोग गर्न मिल्ने शिप र सुझाव दिए ।

त्यस्तै एसोसिएसनका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय रेसर अनिलकुमार बरालले कुनै पनि रेसमा ड्राइभरमा हुनुपर्ने नैतिकता र अनुशासनको महत्वको र खेलाडीमा हुनै पर्ने स्पोर्टस्म्यानसिपको बारेमा प्रस्तुति राखे ।
त्यस्तै, प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङसहितको प्रयोगात्मक सेशन पनि भएको थियो । त्यस सेशनमा अन्तर्राष्ट्रिय रेसर भारती र बरालले खेलाडीले रेसमा ड्राइभिङ तरिका बताउँदै डेमो रेस गरेका थिए ।


