एडास फिचर भएका कार : नेपालमा पाइन्छ ५० लाखभन्दा सस्ताेमा तीन मोडल

काठमाडौं । एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडीएएस) लाई सरल भाषामा एडास भन्ने गरिएको छ । यो प्रविधि नितान्त चालकको सहजता र सुरक्षाको लागि कार निर्माताहरूले प्रयोग गर्न थालेका हुन् ।

सामान्यतया एडास भित्र एडाप्टिभ क्रुज कन्ट्रोल, अगाडि कुनै वस्तु आउँदा सहज गराउने (फरवार्ड कोलिजन वार्निङ), हाइ बिम सेफ्टी सिस्टम, लेन डिपार्चर वार्निङ, ट्राफिक सिग्नल रिकग्कनेशन, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर हुन्छन् । यी फिचर छैन भने बुझ्नुस् तपाईंले प्रयोग गर्ने गाडीमा एडास फिचर प्रयोग भएको छैन ।

यसका अलावा एडास भित्र ३६० डिग्री क्यामेरा, हाइ क्वालिटी सेन्सर, थ्रीडी अब्जेक्ट रिजोलुसन, रियल टाइम डाटा जस्ता कुरा पनि यसैभित्र पर्छन् ।

केही वर्ष अघिसम्म यी फिचरहरू प्रिमियम कारमा मात्रै उपलब्ध हुन्थ्यो । विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेसँगै एडास फिचर सामान्य हुन थालेको हो ।

एडास फिचरको अपग्रेड निरन्तर भइरहेको छ । यसको २ र २.५ लेभल मात्रै सामान्यतया नेपालमा उपलब्ध कारमा प्रयोग भएका छन् । विश्वमा यसको चौथो जेनेरेशन पनि बजारमा आउन तयार छ । जहाँ भेहिकल टु भेहिकल नेटवर्क कनेक्टिभिटी पनि समावेस हुँदैछ ।

एडासको बढ्दो प्रयोगलाई एशिया प्यासेफिकमा भएको यसको व्यापारले पनि पुष्टि गर्छ । सन् २०२३ मा एशिया प्यासेफिकमा मात्रै ९.६९ अर्ब डलर बराबरको कारोबार भएको थियो । सन् २०१८ देखि यसको प्रयोग विश्वभर २८ प्रतिशतले बढ्दै गएको देखिन्छ ।

डल्फिन

नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको एडास फिचर भएको कार हो बीवाइडी डल्फिन । साइमेक्स इंकले बिक्री गर्दै आएको डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

कम मूल्यसँगै फिचर लोडेड भएकै कारण नेपाल, चीन, ब्राजिल र युरोपमा समेत डल्फिनले राम्रो व्यापार गरिरहेको छ । यसमा एडास भित्रका ३६० डिग्री क्यामेरा, हाइ बिम एसिस्ट, ब्लाइड स्पर्ट डिटेक्सन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम, एड्भान्स क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक अर्लट, लेन डिपार्चर वार्निङ जस्ता फिचर छन् ।

यी नै फिचरको कारण डल्फिनले नेपाली उपभोक्ताको मन जित्न सफल भएको मानिन्छ । ह्याचब्याक सेग्मेन्टमा उपलब्ध निकै ठूलो साइजको कारमा डल्फिन पर्छ ।

एमजी-फोर

पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजी–फोर पनि ह्याचब्याक मोडल हो । युरोपियन बजारमा आफ्नो पर्फमेन्सकै कारण चर्चामा रहेको एमजी-फोरको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले फुल अप्सनमा लङ रेन्ज मोडल पनि केही दिनअघि सार्वजनिक गरेको छ । यसको मूल्य ४९ लाख ९९ हजार राखिएको छ । यसमा एडास फिचरको लामै लिष्ट उपलब्ध छ ।

एमजी पाइलट सेफ्टी फिचरको साथ आउने एमजी-फोरमा ३६० डिग्री क्यामेरा, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, इन्टेलिजेन्स हाइ बिम कन्ट्रोल, ट्राफिक जाम एसिस्ट, ब्लाइन्ड स्पर्ट डिटेक्सन, रियर क्रस ट्राफिक अलर्ट जस्ता फिचर समावेस भएको छ ।

ओरा-०३

क्लासिक डिजाइनको ह्याचब्याक ओरा-०३ मा इन्टेलिजेन्ट सेक्युरिटी नामबाट थुप्रै फिचर पाउन सकिन्छ । भीजी इम्पेक्सले नेपाली बजारमा बिक्री गर्दै आएको ओरा-०३ को मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यसमा पनि एडास भित्र पर्ने फिचरहरूको लामो सूची पाउन सकिन्छ । यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज एसिस्ट, ट्राफिक जाम एसिस्ट, इन्टेलिजेन्ट कर्नरिङ, अप हिल कन्ट्रोल, अटोमेटीक भेहिकल होल्ड, रिभर्सिङ राडार, लेन किप वार्निङ, लेन होल्ड, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top