काठमाडौं । चर्चित अमेरिकी विद्युतीय कार निर्माता कम्पनी ‘फिस्कर इंक’ आर्थिक संकटमा परेको खबरहरु बाहिर आएका छन् । कम्पनीले आफ्नो चर्चित मोडल फिस्कर ओसियन एसयूभीको उत्पादन रोकेको हो ।
अहिलेलाई ६ हप्ताका लागि फिस्कर ओसियनको उत्पादन बन्द गर्ने निर्णय लिएको कम्पनीले जनाएको छ । डेनिस अटोमोटिभ डिजाइनर हेन्रीक फिस्कर र श्रीमती गीता गुप्ता फिस्करले अमेरिकाको क्यालीफोर्नीयामा स्थापना गरेको इलेक्ट्रीक भेहिकल कम्पनी आर्थिक समस्याले गुज्रिरहेको समाचार यसअघि नै आएका थिए ।
कम्पनी थप लगानी खोज्न संघर्ष गरिरहेको छ । बजारमा आएको हल्ला अनुसार जापानीज अटोमोवाइल कम्पनी निसानसँग फिस्करको लगानीवार्ता चलिरहेको छ ।
फिस्करले सन् २०२४ को जनवरीदेखि मार्च १५ सम्ममा १ हजार ५०० यूनिट ओसियन एसयूभी बिक्री गरेको छ । कम्पनीसँग अहिले ४ हजार ७०० यूनिट गाडी स्टकमा रहेको रिपोर्ट बाहिर आएको छ ।
आर्थिक संकटकै कारण कम्पनीले कम मूल्यको कम्प्याक्ट विद्युतीय कार पर्ल ह्याचव्याक उत्पादनको काम रोकेको थियो । उसले नयाँ मोडलको काम मात्रै रोकेको थिएन । आफ्नो १५ प्रतिशत कर्मचारीसमेत कटौती गरेको थियो ।
फिस्कर अटोमोटीभ सन् २०२३ को चौथो क्वाटर सम्ममा ४६३.६ मिलियन घाटामा रहेको छ । अहिले निसान मोटर्ससँग ४०० मिलियन लगानीको डील पुरा नभएको खण्डमा फिस्कर इंकले छिट्टै बैकरप्सी फाइल गर्ने अनुमान गरिएको छ ।

