एमजी इन्डियाले प्रत्येक ३ देखि ६ महिनामा नयाँ कार ल्याउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले भारतमा नयाँ ब्यवसायीक साझेदारको रुपमा ‘जेएसडब्लू ग्रुप’लाई ल्याएसँगै नयाँ रणनीति तयार गरेको छ । कम्पनीले तयार गरेको रणनीति अनुसार हरेक ३ देखि ६ महिनामा नयाँ मोडल ल्याउने भएको हो ।

एमजीले केही दिनअघि भारतमा साइवरस्टर, एमजी फोर र एमजी थ्री जस्ता मोडल देखाएको थियो । योसँगै भारतमा कम्पनीको आक्रमक रणनीति तयार भएको हो ।

नयाँ साझेदार ल्याएसँगै कम्पनीले बलियो ईभी ईको सिस्टम तयार गर्ने जनाएको छ । कम्पनीले निकट भविष्यमै प्रिमियम प्यासेन्जर सेग्मेन्टमा नयाँ प्रोडक्ट लन्च गर्ने भएको हो ।

जेएसडब्लू स्टीलका मेनेजिङ डाइरेक्टर सज्जन जिन्दालले नयाँ पार्टनरशिप पछि एमजी मोटर्सले भारतीय अटोमोटीभ ब्यवसायमा ‘मारुती मुमेन्ट’ ल्याउने बताएका छन् । उनका अनुसार नयाँ साझेदारीले मारुतीले ४० वर्ष अगाडि गरेको जस्तै बजारमा उथलपुथल गर्ने बताए ।

आगामी योजना

जेएसडब्लू एमजी मोटर इन्डियाले मुम्बईमा आयोजना गरेको ग्राण्ड इभेन्टमा महत्वाकांक्षी योजनाको घोषणा गर्दै अब प्रत्येक ३ देखि ६ महिनामा नयाँ गाडी बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आगामी सेप्टेम्बरबाट आक्रामक रुपमा नयाँ प्रोडक्ट लन्च गर्ने जनाएको छ । कम्पनीले सन् २०२४ भित्रै नयाँ २ वटा कार ल्याउने छ । नयाँ साझेदारीसँगै एमजीले भारतमा नयाँ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरसमेत स्थापना गर्नेछ । यसले भारतीय बजार सुहाउँदो नयाँ उत्पादनमा काम गर्नेछ ।

नयाँ साझेदारीले आफ्नो ६० प्रतिशत स्रोत कार्बन उत्सर्जन कम गर्न र हरित उर्जाको प्रयोगमा काम गर्ने योजना अघि सारेको छ । कम्पनीले सन् २०३० सम्म १०० प्रतिशत नविकरणीय उर्जा प्रयोग गर्ने जनाएको छ ।

एमजीले १ लाख विद्यार्थी र कामदारलाई अटोमोटीभ टेक्नोलोजीका बारेमा ट्रेनिङ संचालन गरी थप रोजगारीसमेत सृजना गर्ने जनाएको छ ।

यी सबै कामको लागि कम्पनीले गुजरातको हलोल प्लान्टको उत्पादन क्षमता समेत तीन गुणाले वृद्धि गरी वार्षिक ३ लाख यूनिट पूर्याउने जनाएको छ ।


Back_to_top