काठमाडौं । बीवाइडीले आफ्नो चर्चित ब्लेड ब्याट्रीको नयाँ जेनेरेशन ल्याउने भएको छ । पहिलो जेनेरेशनबाटै सुरक्षामा बलियो पकड बनाएको ब्लेड ब्याट्रीको नयाँ जेनेरेशन थप मजवुद हुने अनुमान गर्न सकिन्छ ।
बीवाइडीको सहायक कम्पनी फिन ड्रिम्सले आगामी अगस्टमा ब्लेड ब्याट्रीको सेकेण्ड जेनेरेशन भर्सन ल्याउने भएको हो । कम्पनीले सन् २०२० मा पहिलो पटक ब्लेड टेक्नोलोजीको लिथियम आयोन फस्फेट ब्याट्री ल्याएको थियो ।
ब्लेड ब्याट्री परम्परागत ब्याट्री सेलको तुलनमा ५० प्रतिशत कम स्थानमा राख्न सकिन्छ । तर, सेकेन्ड जेनेरेशन ब्लेड टेक्नोलोजीमा भने डेन्सीटी बढ्ने छ । अहिलेको ब्लेड ब्याट्रीमा १५० वाटआवर प्रतिकिलो डेन्सीटी रहेकोमा दोस्रो जेनेरेशनको ब्याट्री प्याकमा १९० वाटआवर प्रतिकिलो हुने बताइएको छ ।
सेकेन्ड जेनेरेशन ब्लेड ब्याट्रीको साइज पनि सानो हुने र तौल पनि कम हुने दावी प्रकाशित रिपोर्टहरुले गरेका छन् । नयाँ ब्याट्रीको प्रयोगपछि सबै इलेक्ट्रीक मोडलले सीएलटीसी रेन्ज टेष्टमा १ हजार किलोमिटरभन्दा बढी रेन्ज दिने दावी गरिएको छ ।
बीवाइडीले नयाँ टेक्नोलोजीको ब्याट्रीको मूल्य पनि कम हुने प्रक्षेपण गरेको छ । जसका कारण बीवाइडीको न्यू इनर्जी भेहिकलहरुको बिक्री मूल्य निकट भविष्यमै परम्परागत ग्यासोलीन कारभन्दा सस्तो हुनेछ ।

