चार महिनामा आयो १ लाख २६ हजार युनिट बाइक, कुन क्षमताको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७५–०७६ को चार महिनामा १ लाख २६ हजार २८९ युनिट मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । कुल १० अर्ब ७४ करोड ७८ लाख एक हजार रुपैयाँ मूल्य बराबरका ती बाइक आयात भएका हुन् । उक्त परिमाणको टु–ह्वीलर आयातबाट सरकारले ११ अर्ब ५४ करोड ९० लाख ४७ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको आयात तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर ५० सीसीदेखि २५० सीसी इन्जिन क्षमताका रहेका छन् ।

२५० सीसीसम्म क्षमता भएका बाइक आयातको सङ्ख्या १ लाख २४ हजार ५ सय ७८ युनिट भएको छ ।

उक्त सङ्ख्याको दुईपाङ्ग्रे सवारीसाधन आयात गर्न १० अर्ब ४५ करोड ९१ लाख ६० हजार रुपैयाँ खर्च भएको छ भने सरकारले राजस्वको रुपमा ११ अर्ब १६ करोड २ लाख ५५ हजार रुपैयाँ सङ्कलन गरेको छ । २५० माथि र ५०० सीसीभन्दा तलका बाइक आयात २७ करोड ३२ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ६९८ युनिट भएको छ । उक्त आयातबाट सरकारले ३६ करोड ९ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । 

५०० देखि ८०० सीसी इन्जिन क्षमताका बाइकको आयात चार महिनामा ६ युनिटमात्र भएको छ । उक्त सङ्ख्याको आयातका लागि ६४ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ भने सरकारी राजस्वमा एक करोड ६ लाख २९ हजार रुपैयाँ सङ्कलन भएको छ ।

सरकारले ८०० सीसीभन्दा माथिका बाइकलाई एउटै समूहमा राखेर कर लगाउँदैआएको छ । चालु आर्थिक वर्षमा ८०० सीसीमाथिका बाइक ७ युनिट आयात भएको छ ।  ८० लाख ८० हजार रुपैयाँमा आयात भएका ती बाइकबाट सरकारले करवापत् १ करोड ७२ लाख ९ हजार राजस्व सङ्कलन गरेको छ ।


Back_to_top