तीन वर्षमा जिकरको ६ मोडल, यस्तो हुनेछ नयाँ ‘७-एक्स’

काठमाडौं । जिलीको पूर्ण स्वामित्व रहेको जिकर २०२१ मा स्थापना भएको ब्राण्ड हो । कम्पनीले स्थापनापछि विभिन्न ५ मोडल बजारमा ल्याइसकेको छ भने नयाँ मोडल ‘७-एक्स’को टिजर सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो नयाँ मोडल (कोड नेम सीएक्स१ई) नाम दिएर उत्पादन गरिरहेको छ । यसलाई सडक परीक्षणको क्रममा पनि देखिएको थियो । कम्पनीले यसको नाम ‘७-एक्स’ राखेर पुर्ण तस्बिर सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ कारको तस्बिरसँगै यसको साइजको बारेमा पनि जानकारी दिएको छ । जिकर ७-एक्स कम्पनीको एमपीभी ००९ पछिको सबैभन्दा ठूलो मोडल हो । यसको लम्बाई ४८२५ एमएम, चौडाई १९३० एमएम र उचाई १६५६ एमएम छ । यसमा २९२५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

जिकर ७-एक्समा १९ र २० इन्चको ह्वील अपसन रहने छ । गाडीको छतमा लाइडार सेन्सर र एयर सस्पेन्सनमा पनि छनोट सुविधा ग्राहकले पाउने छन् ।

जिकरले ७-एक्स मोडलमा लिथियम आयोन फस्फेट ब्याट्री र टर्नरी एनएमसी ब्याट्री गरी दुई फरक ब्याट्री अप्सन दिनेछ । रियर ह्वील ड्राइभ मोटरमा आउने यो एसयूभीमा ३१० र ४७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ ।

कम्पनीले यसलाई ३३ हजारदेखि ४८ हजार अमेरिकी डलर मूल्य तोकेर बिक्री गर्ने जनाएको छ । यसको सिधा प्रतिस्पर्धा टेस्ला मोडल वाईसँग हुनेछ ।


Back_to_top