भिडियो रिभ्यूः टोयोटा र होन्डाको लिगेसी बोकेको Aion Y

काठमाडौं । विद्युतीय कारहरू सहर केन्द्रित हुन् वा हुन्छन् भन्ने मान्यता स्थापित छ । चाहे साना कार हुन् वा ठूला भनिने एसयूभी सबैलाई चिनियाँ बाटोमा आधारीत रहेर बन्नेको पाइन्छ । चीनभन्दा बाहिरबाट आउने विद्युतीय कारमा पनि ग्राउन्ड क्लियरेन्स सबैभन्दा धेरै समस्या रहेको छ ।

ग्वान्झाओ अटोमोबाइल कर्पोरेशनको इलेक्ट्रीक ब्राण्ड Aion को पहिलो मोडल Aion Y नेपाली बजारमा प्रवेश गरेको झण्डै ४ महिना भएको छ । चार महिनाको अवधिमा यसले बजारमा स्थापित हुन प्रयास गरिरहेको देखिन्छ ।

साइजमा ठूलो एसयूभी बराबर रहेको Aion Y बाहिरबाट भन्दा भित्रको फिचरहरूले लोभ्याउन सक्ने सामर्थ्य भएको विद्युतीय कार हो । कम्पनीले यसलाई एसयूभी सेग्मेन्टमा ल्याएको हो । तर, झट्ट हेर्दा एमपीको लुक्स पाउन सकिन्छ । जेहोस् नेपालको सहरी क्षेत्रसँगै हाइवेको लागि यो उत्कृष्ट गाडी हो ।

मेरोअटो टीमले यसलाई काठमाडौं-सिन्धुली-कटारी-मिर्चैया-कोशी ब्यारेज हुँदै झापाको विर्तामोडसम्म चलाएर हेरेको थियो । यस दौरान हामीले यसको पर्फमेन्स, ह्याण्डेलिङ, कम्फर्ट, रेन्ज र चार्जिङ स्पीडलाई नजिकबाट नियालेका छौं ।

ह्यान्डेलिङ र कम्फर्ट

दुई दिनमा ९०० किलोमिटर गाडी चलाउनु नेपालमा सहज छैन । त्यसमा पनि क्यामेरासहितको भिडियो टीमले काम गर्दै । काठमाडौंबाट निस्केको केही घण्टामै सुरू भएको वर्षातले देशभर जनजीवन प्रभावित भएको समयमा हामीले एवोन वाइको टेष्ट ड्राइभ गरेका थियौं ।

पानीको कारण भिडियो टीम लगभग निरास बन्यो । तर, यसलाई चलाएर अनुभव गर्ने अवसर पनि सँगै जुरेको थियो । पानी, चिप्लो र हिलो बाटोमा पनि गाडीको ग्रिप उत्कृष्ट थियो । एरोडाइनामिक बडी डिजाइनको कारण सडकमा Aion Y निकै स्टेबल थियो । करिब ११०/१२० को स्पीडमा पनि गाडी दौडिएकै अनुभव गर्न पाइँदैन ।

स्मार्ट थ्री स्पोक स्टेरिङ ह्वील, सहजै छनोट गर्न सकिने ड्राइभिङ मोड, स्टेरिङमै दिइएको गियर नवको कारण चालकले झन्झट व्योहोर्न पर्दैन । ईभी चार्जमा राख्दा पनि मज्जाले सुत्न मिल्ने सिट भएको कारण यसलाई चलाउने मानिस थाक्ने छैन ।

रेन्ज र चार्जिङ स्पीड

रिजेनेरेटिभ ब्रेकिङ सिस्टमलाई स्लोमा राखेर हामीले चलाएका थियौं । यसमा रहेको ६१.५४ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट म्याग्जिन ब्याट्रीले ४२० किलोमिटर रेन्ज दियो । ब्याट्री साइज अनुसार यसलाई उत्कृष्ट मान्न सकिन्छ ।

यसको चार्जिङ स्पीड भने अल्ली अनौठो छ । ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जरमा जोड्दा पनि सुरूआती ४ मिनेटसम्म यसले ६ किलोवाटको दरले मात्रै स्पीड लिन्छ । त्यसपछि ५५ किलोवाटको स्पीडले चार्ज भएको हामीले पायौं ।

पर्फमेन्स र ब्रेकिङ

जीएसीले Aion Y मोडलमा १०० किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको पीकटर्क २२५ एनएम छ । सामन्यतया इको मोडमा नै पुग्दो पावर यसले दिन्छ । होइन ड्राइभिङमा पावरको मज्जा खोज्दै हुनुहुन्छ भने स्पोर्टस् मोडले तपाईंलाई सन्तुष्ट बनाउने छ ।

भ्यान्टिलेटेड डिस्क ब्रेक दिइएको कारण तपाईंले यसमा निकै स्मार्ट र स्मुथ ब्रकिङ सिस्टम पाउनु हुनेछ । अगाडि दिइएको म्याकफेर्सन इन्डिपेन्डेन्ट र पछाडि दिइएको टोर्सन बीम सस्पेन्सनले यात्रालाई निकै लग्जरी बनाएको छ । त्यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्सले थप मजबुती प्रदान गर्छ ।

आधुनिक फिचरको प्रयोग

कम्पनीले ड्यासबोर्ड, सिट, एसी, एयर फिल्टर (पीएम २.५), पानारोमिक सनरुफ, वायरलेस चार्जर, एम्बियन्ट लाइट, ६ वे इलेक्ट्रीकल एड्जस्टेबल ड्राइभिङ सिट, १४.६ इन्चको इन्फर्मेशन डिस्प्ले, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, एडास सेफ्टी फिचर, ३६० डिग्री क्यामेरा दिएको छ । अहिले बजारमा चल्तीका एसयूभीमा रहने सबै इन्टेरियर फिचर यसमा पाउन सकिन्छ ।

बाहिरी बनोटमा पनि निकै राम्रा फिचर दिइएको छ । सबै लाइट एलईडी छन् । १७ इन्चको अलोय ह्वील, अटोमेटिक हेडल्याम्प, एन्टलको पखेटा जस्तो डे टाइम रनिङ लाइट, क्लोजअफ ग्रिल, रियर फगलाइट, रेन सेन्सिङ वाइपर, हिडन डोर ह्याण्डल, चंकी ह्वीलआर्क दिइएको छ ।

साइज

Aion Y को लम्बाइ ४५३५ एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । कम्पनीले ट्राभलरहरूको लागि निकै फाइदाजनक ४०५ लिटरको बुट स्पेश दिएको छ ।

क्वालिटीमा नो कम्परमाइज

जीएसी चीनको चर्चित सरकारी लगानीको कम्पनी हो । यसले जापानी ब्राण्ड होन्डा र टोयोटासँग सहकार्य गरेर चीनमा कारहरू बनाउँदै आएको छ । जापानी कारहरू टिकाउ, सुरक्षीत किफायतीको लागि विश्वभर परिचित छन् । जुन क्वालिटी एवोन वाइमा पनि तपाईंले अनुभूति गर्न सक्नुहुन्छ ।

अर्को ईभी उत्पादनको छोटो समयमा नै यसले १० लाख युनिटको कोशेढुङ्गा पार गरेको थियो । चीनमा नम्बर वान क्वालिटीको ताज जित्न सफल जीएसीका उत्पादन अहिले विश्वका ३२ देशमा फैलिएको छ ।


Back_to_top