काठमाडौं । भारतीय बजारमा जुलाई महिनाको बिक्रीमा पहिलो पटक हुन्डाईको क्रेटा टप स्थानमा परेको छ । जुलाई महिनामा बिक्री भएका टप १० मोडलको सूचीको पहिलो स्थानमा क्रेटा परेको हो ।
सधैं मारुती सुजुकीको कब्जामा रहने पहिलो स्थान केही महिना अघि टाटा पन्चले खोसेको थियो । जुलाईमा भने हुन्डाई क्रेटाले खोसेको हो । सूचीको दोस्रो र तेस्रो स्थानमा मारुती सुजुकी स्वीफ्ट र वागेनआर परेका छन् ।
क्रेटाले आफ्नो बिक्री १७ हजार ३५० यूनिट गर्दा स्वीफ् १६ हजार ८५४ र वागेनआर १६ हजार १९१ यूनिट बिक्री भएको छ । सूचीको चौथो स्थानमा टाटा पन्च पर्न सफल भएको छ । पन्चको बिक्री १६ हजार १२१ यूनिट भएको हो ।
पाँचौ र छैटौ स्थानमा पनि सुजुकीका आर्टिगा र ब्रेजा परेका छन् । यी दुईको बिक्री क्रमशः १५ हजार ७०१ र १४ हजार ६७६ यूनिट रहेको छ ।
टाटा नेक्सन १३ हजार ९०२ यूनिटसहित सातौं स्थानमा रहँदा महिन्द्रा स्कर्पियो १२ हजार २३७ यूनिट सहित आठौं, ११ हजार ९१६ यूनिटसहित सुजुकी ईको भ्यान नवौं र ११ हजार ६४७ यूनिटसहित डिजायर दशौं स्थानमा रहेको छ ।

