काठमाडौं । होन्डा इन्डियाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने मिति तय गरेको छ । होन्डा इन्डियाले मार्च २०२५ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको हो ।
होन्डा इन्डियाका सीइओ टिसुटिसुमु ओतानीले पहिलो इलेक्ट्रीक स्कुटर मार्च २०२५ सार्वजनिक हुने बताएका हुन् । स्कुटरको बारेमा हालसम्म कुनै जानकारी बाहिर नआएता पनि इलेक्ट्रीक स्कुटरको नाम भने एक्टिभा नहुन सक्ने ओतानीले बताएका छन् ।
होन्डाले केही दिन भित्रमै पहिलो इलेक्ट्रीक स्कुटर मोडलको रुपमा एक्टिभाको परीक्षण थाल्ने भएको छ। भारतमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने योजनासहित आफ्ना दुई नयाँ प्लान्ट (कर्नाटका र गुजरात)को क्षमता वृद्धि गरेको हो ।
होन्डाले पछिल्लो समय आक्रामक बजार बिस्तार गर्दै आएको छ । यहि क्रममा उसले आफ्नो नजिकको प्रतिस्पर्धी हिरोलाई समेतपछि पारेको थियो । होन्डा इन्डियाले आर्थिक वर्ष २०२५ मा १५ प्रतिशतले बिक्री बढाउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले इलेक्ट्रीक सेग्मेन्टमा आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर एक्टिभा बजारमा ल्याउने छ ।
कम्पनीले एक्टिभा इलेक्ट्रीकमा फिक्स तथा रिमुभएबल दुबै ब्याट्री प्रयोग गर्ने जनाएको छ । भारतको इलेक्ट्रीक दुई पाङ्ग्रे बजारमा ओला एक्लैले झण्डै ५० प्रतिशत बजार हिस्सा ओगटेको छ भने, भारतीय मोटरसाइकल जायन्ट कम्पनी बजाज, टीभीएस, हिरो जस्ता कम्पनीले आफ्ना उत्पादन बजारमा उतारेका छन् ।


