विश्वका दुई अटो जाइन्ट जनरल मोटर्स र हुन्डाई बीच सहकार्य

काठमाडौं । अमेरिकी ब्राण्ड जनरल मोटर्स र हुन्डाई मोटर्स कम्पनी बीच नयाँ सहकार्यको घोषणा भएको छ । अमेरिकी अटोमोवाइल लिडर र कोरियन अटो जाइन्ट बीच बहुआयामीक क्षेत्रमा साझेदारी गर्ने घोषणा भएको हो ।

यी दुई ठूला कम्पनी बीचको सहकार्यले आफ्नो स्ट्रेन्थ वृद्धि गर्ने, बजारमा नयाँ-नयाँ प्रविधिको विकास गरेर पठाउने र उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै कामहरु अगाडि बढाउने उल्लेख छ । दुबै कम्पनीले मिलेर नयाँ भेहिकलको विकास गर्ने, नयाँ इन्जिनको विकासदेखि न्यू इनर्जी भेहिकल उत्पादनसम्म दुबै कम्पनी मिलेर गर्ने जनाइएको छ ।

दुई कम्पनी बीचको साझेदारीले प्यासेन्जर कार, कमर्शियल भेहिकल, विद्युतीय साधन र हाइड्रोजन फ्यूलसेल कारको विकास र उत्पादन गर्ने विषय प्रमुख छन् । साथै, ब्याट्रीको विकास र गुणस्तरिय स्टीलको प्रयोगमा पनि दुबै कम्पनी बीच सहकार्य हुने भएको हो ।

दुबै कम्पनी बीचको सम्झौंतामा हुन्डाई मोटर्स ग्रुपका चेयरम्यान युसन चाङ र जनरल मोटर्सको सीईओ मेरी बाराले हस्ताक्षर गरेका हुन् ।

‘जनरल मोटर्स र हुन्डाई बीचको सहकार्यले दुबै कम्पनीको स्ट्रेन्थ बढ्ने छ । हाम्रो लक्ष्य दुबै कम्पनीको क्षमतालाई उच्चतम प्रयोग गरेर थप प्रतिस्पर्धी बन्नु हाे । यसले उपभोक्तालाई पनि निकै फाइदा पुग्नेछ’, जनरल मोटर्सका सीईओ बाराले बताइन् ।

हुन्डाई मोटर्स ग्रुपका चेयरम्यान युसन चाङले यो सम्झौंता दुबै कम्पनीको लागि अवसर रहेको बताउँदै भने, ‘अहिलेको प्रतिस्पर्धी बजारमा उपभोक्तालाई उत्कृष्ट प्रोडक्ट र सर्भिससँगै नयाँ प्रविधिको विकास गर्न सहयोग पुग्नेछ ।’


Back_to_top