काठमाडौं । निसानले सन् २०१६ मा लन्च गरेको किक्सको सेकेन्ड जेनेरेशन सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकी बजारमा कम्प्याक्ट एसयूभी किक्स सार्वजनिक गरेको हो ।
नयाँ मोडलमा धेरै परिवर्तन गरेर कम्पनीले ल्याएको छ । यसको वाहिरी लुक्स निकै उत्कृष्ट देखिन्छ । बक्सी तथा अपराईट स्टाइलमा तयार भएको किक्सको अगाडि ठूलो साइजको ग्रिल र त्यसको दुबैतर्फ एजमा फोर स्टेप एलइडी डीआरएल लाइट दिएको छ । जसले किक्सलाई अन्य मोडलभन्दा फरक देखाएको छ ।

एसयूभीको चारैतिर दिएको डार्क कलरको बडी क्लाइडिङले रगेड लुक्स प्रदान गरेको छ ।
बाहिरी डिजाइनमा जस्तै इन्टेरियरमा पनि व्यापक परिवर्तन देखिन्छ । नयाँ किक्समा इन्फर्मेशन डिस्प्ले र इन्फोटेन्मेन्ट सिस्टम समान १२.३ इन्च दिइएको छ । ड्यासबोर्डमा दिइएको ड्यूल स्कृन सेटअप उत्कृष्ट छ ।
क्लाइमेट कन्ट्रोलका लागि फिजिकल बटनहरु दिइएको किक्समा १० वटा स्पीकर सहित बोसको प्रिमियम अडियो सिस्टम पाउन सकिन्छ । वायरलेस मोवाइल चार्जिङ प्याड, ६ वे इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट, ड्राइभर हेडरेस्ट स्पीकर, जिरो ग्राभिटी डिजाइनको रियर सिट, प्रो पाइलट ड्राइभर असिस्ट सिस्टम, ३६० डिग्री क्यामरा, पानारोमीक शनरुफ जस्ता फिचर छन् ।

रेनो निसान मित्सुबीसी एलायन्समा तयार भएको सीएमएफ बी प्लेटफर्ममा बनेको किक्सको लम्बाई ४३६६ एमएम, चौडाई १८०१ एमएम र उचाई १६३१ एमएम छ । यसको ह्वीलवेस २६६४ एमएम लामो छ ।
अलह्वील ड्राइभ अप्सनसहित लन्च भएको निसान किक्समा १४१ हर्सपावर तथा १९० न्यूटन मिटर टर्क जेनेरेट गर्ने २.० लिटरको इनलाइन फोर सिलिण्डर पेट्रोल इन्जिन छ । यसमा अटोमेटीक सीभीटी गियरबक्स रहेको छ ।

निसान किक्स नेपालमा पनि राम्रै संख्यामा उपलब्ध मोडल हो । भारतमा उत्पादन भएर आएको किक्स अहिले उत्पादन बन्द भइसकेको छ । तर, नयाँ जेनेरेशन किक्स आउँछ वा आउन्न एकिन साथ भन्न सकिने अवस्था छैन ।

