ग्यालेक्सी ईएक्स-फाइभ नेपाल आउने, दुई ब्याट्री अप्सन पाइने

काठमाडौं । जिली होल्डिङको इलेक्ट्रीक ब्राण्ड ग्यालेक्सीको पहिलो कम्प्याक एसयूभी ‘ईएक्स-फाइभ’ नेपाल आउने भएको छ । जिलीको ग्यालेक्सी ब्राण्डलाई प्रोटोनले अन्तर्राष्ट्रिय बजारमा पठाउने भएकाले जगदम्बा मोटर्सले नै ई-फाइभ नेपाल ल्याउने तयारी थालेको हो । नेपालमा भने यो एसयूभी प्रोटोनको ब्याजमा ई-मास७ मोडलमा आउने छ ।

यद्यपि, अन्य केही व्यापारिक घराना पनि ग्यालेक्सी ब्राण्ड नेपाल ल्याउन लागि परेका छन् । थाइल्याण्ड, मलेशिया र अष्ट्रेलियामा चाँडै बिक्री सुरु हुन लागेको ग्यालेक्सी ईएक्स-फाइभ मोडल चाँडै नेपालमा पनि बिक्री सुरु हुन सक्छ । यी देशहरूमा पनि नेपाल जस्तै राइट ह्याण्ड ड्राइभ गाडी चल्ने देश हुन् ।

जिलीको ‘ग्लोबल मोडुलर आर्किटेक्चर’मा तयार भएको ग्यालेक्सी ईएक्स-फाइभको साइज पनि ठूलो छ । यसको लम्बाइ ४६१५ एमएम, चौडाई १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

ग्यालेक्सी ईएक्स-फाइभमा एचयूडी हेडअप डिस्प्ले, १०.२ इन्चको फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् ।

ग्यालेक्सी ईएक्स-फाइभ ४०० भोल्ट आर्किटेक्चरमा बनेको एसयूभी हो । यसमा दिइएको इन्टेलिजेन्ट ड्राइभ सिस्टमसँग ११ मुख्य कम्पोनेन्ट जोडिएको छ । जसमा मोटर, इलेक्ट्रीक कन्ट्रोल लगायत जोडिएको छ । १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको गाडीले ३२० एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले यसमा जिलीले उत्पादन गरेको ‘एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री’ प्रयोग भएको छ । दुई फरक साइजका ब्याट्री यसमा रहने छ । कम्पनीले ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री दिएको छ । जसको रेन्ज ४४० र ५३० किलोमिटर रहने सीएलटीसीले प्रमाणित गरेको छ ।


Back_to_top