बीवाइडी सिगल र टियागो ईभीमा कति फरक ?

काठमाडौं । बीवाइडी सिगल कम मूल्यको इन्ट्री मोडलको रूपमा चर्चा पाइरकेको कार हो । चिनियाँ निर्माताले एक वर्ष अगाडिदेखि नै घरेलु बजारमा बिक्री गर्दै आएको सिगल चीनबाट निर्यात पनि सुरू भइसकेको छ ।

अहिलेसम्म लेफ्ट ह्याण्ड ड्राइभ सिस्टम भएका देशमा मात्रै निर्यात भइरहेको सिगल चाँडै राइट ह्याण्ड ड्राइभ मार्केटमा पनि आउने भएको छ । कम्पनीले यसलाई अष्ट्रेलिया, थाइल्याण्ड र नेपाल जस्ता बजारमा पनि चाँडै उतार्ने तयारी गरिरहेको छ ।

यदि, तत्काल राइट ह्याण्ड ड्राइभमा आउने हो भने नेपाली बजारमा यसको प्रवेश हुन्छ । नेपालमा सिगलको सिधा प्रतिस्पर्धा टाटा टियागो ईभीसँग हुने देखिन्छ । त्यसको मुख्य कारण साइज हो । साइजका हिसाबले दुवै मोडल उस्तै देखिन्छन् ।

साइज

सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम र उचाइ १५४० एमएम रहेको छ । यसमा २५०० एमएम लामो ह्वीलबेस उपलब्ध छ ।

त्यसैगरी, टाटा टियागो ईभीको लम्बाइ ३७६९ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५३६ एमएम रहेको छ । यसमा २४०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

साइजमा थोरै ठूलो सिगलमा ह्वीलबेस भने १०० एमएम बढी लामो पाउन सकिन्छ । दुवै कार ५ सिट क्षमताका हुन् । सिगलमा १६ इन्चको ह्वील दिइएको छ भने टियागो ईभीमा १४ इन्चको ह्वील पाउन सकिन्छ ।

ब्याट्री र मोटर

बीवाइडीले सिगलमा ३८.८८ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा लिथियम आइरन फस्फेट ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४०५ किलोमिटर रेन्ज पाइने सीएलटीसीले प्रमाणित गरेको छ ।

टाटाले टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसले सिंगल चार्जमा ३१५ किलोमिटर रेन्ज दिने एआरएआइले प्रमाणित गरेको छ । यद्यपि, यति रेन्ज भने उपभोक्ताले सडकमा पाउँदैनन् ।

टाटाले टियागो ईभीमा ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । उक्त मोटरले अधिकतम प्रदान गर्ने पावर ७५ पीएस हो । बीवाइडी सिगलमा पनि समान साइजको मोटर पाउन सकिन्छ ।

बीवाइडी सिगलमा रहेको मोटरले १३५ एनएम टर्क प्रदान गर्छ भने टियागोमा रहेको मोटरको अधिकतम टर्क ११४ एनएम छ ।


Back_to_top