यी हुन् दशैंमा सबैभन्दा धेरै बिकेका आधा दर्जन कार मोडल

काठमाडौं । असोज महिनाको कार बिक्रीलाई आधार मान्ने हो भने करिब आधा दर्जन कारले निकै राम्रो बिक्री र प्रभाव छाडे भन्न सकिन्छ । यस वर्ष चीन जोड्ने मुख्य रसुवागढी र तातोपानी दुवै नाका बन्द हुँदा धेरै गाडी नेपाल आउनै सकेनन् ।

विशेषगरी विद्युतीय कार मोडलमा टाटा पन्च, बीवाइडी एटो-थ्री, ओमोडा/जेको, दीपल एस-०७ र हुन्डाई क्रेटाले निकै राम्रो बिक्री पाए । बिक्रीको ठ्याक्कै तथ्यांक सार्वजनिक नगर्ने हाम्रो बजारमा बढाई चढाई गर्नेहरू पनि छन् । तर, यसलाई भन्दा पनि बाटोमा थपिएका नयाँ गाडीको आधारमा भन्ने हो भने माथि उल्लेख भएका यिनै मोडलहरूको बिक्री धेरै भयो ।

धेरै बिक्री भएका करिब आधा दर्जन मोडलमा हुन्डाई क्रेटा मात्रै पेट्रोल इन्जिन भएको कार हो । क्रेटा बाहेक अन्य सबै इलेक्ट्रीक मोडल हुन् । नामी र लिप मोटर्सको सी-१० बाटो बन्द भएर बजारमा आउनै सकेनन् ।

आयातको आधारमा टाटा पन्च सबैभन्दा धेरै बिक्री भएको मोडल मानिन्छ । कम्पनीको दाबी अनुसार असोजमा पन्च ईभी ३७७ युनिट बिक्री भएको छ । बीवाइडीको सफल मोडल एटो-थ्री असोज महिनामा राम्रै संख्यामा बिक्री भएको छ । पुरानो स्टक र नयाँ गरेर एटो-थ्रीले राम्रो संख्या बिक्री गरेको आधिकारिक बिक्रेता साइमेक्स इंकले जनाएको छ ।

हुन्डाई क्रेटा फेसलिफ्टको बिक्री पनि राम्रो संख्यामा भएको देखिन्छ । सडकमा निकै राम्रो संख्यामा क्रेटा फेसलिफ्ट गुडेको देखिन्छ । दीपल एस-०७ झण्डै १२० युनिट बिक्री भएको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिको भनाइ छ ।

ओमोडा र जेको मिलाएर राम्रै संख्यामा कार डेलिभरी भएको एसपीजी अटोमोबाइलको भनाइ छ । जेको जे-सिक्स दोस्रो लट बाटो बन्द हुँदा आउन नसकेको र धेरै डेलिभरी लिने ग्राहक कुरेर बसेको कम्पनीले जानकारी दियो ।

यसका अलावा बीवाइडी डल्फिन, महिन्द्रा स्कर्पियो एन, टाटा एक्सप्रेस टी, एमजी जेडएस ईभी र कोमेट, नेटा, सेरेस, हुन्डाई भेन्यू र आई १० नियोस पनि दशैंमा राम्रै संख्यामा बिक्री भएका छन् ।


Back_to_top