यूरोपमा परम्परागत कार निर्माताहरुको तुलनामा सेल्फ ड्राइभिंग कारहरुको सबैभन्दा अधिक पेटेन्ट सामसुङ्ग इलेक्ट्रोनिक्स कम्पनीले दर्ता गरेको छ ।
यूरोपियन पेटेन्ट कार्यालयकाअनुसार यूरोपमा सन् २०१७ मा सेल्फ ड्राइभिङ्ग कारहरुका लागि कुल ३ हजार ९ सय ९८ आवेदन दर्ता गरिएका थिए जून सन् २०११ को तुलनामा तीन गुणाले अधिक हो ।
रिपोर्टकाअनुसार सन् २०११ देखि २०१७ सम्म सामसुङ्गले सबैभन्दा धेरै ६२४ पेटेन्टको लागि आवेदन दर्ता गरेको छ । सो सूचीअनुसार दोस्रोमा अमेरिकी टेक कम्पनी इन्टेल कर्प रहेको छ, जसले ५९० आवेदन दर्ता गरेको छ । कार्यालयकाअनुसार अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इन्कले ३६१, दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले ३४८, जर्मनको इन्जिनियरिङ्ग फर्म बोसले ३४३ वटा पेटेन्ट दर्ता गरेका छन् ।
तथ्यांकअनुसार सेल्फ ड्राइभिंग कारहरुको विकासको प्रयास परम्परागत गाडी निर्माता कम्पनीहरुको तुलनामा सूचना प्रविधिको क्षेत्रमा जोडिएका कम्पनीहरुले अत्यधिक मात्रामा गरिरहेका छन् ।
सो सूचीमा समावेश प्रमुख १० कम्पनीहरुमध्ये केबल ३ वटा कम्पनीहरु, बोस, टोयोटा मोटर्स कर्पोरेशन र कन्टिनेन्टल एजी मात्र गाडी उत्पादक कम्पनीहरु हुन् ।

