काठमाडौं । हिरो मोटर्सको डिलरसिप पाएसँगै सीजी मोटर्सले आक्रमक बजार विस्तारको रणनीति तयार पारेको छ ।
कम्पनीले केही दिन अघिदेखि मात्र हिरो एक्सपल्स २०० फोर भी प्रोको बिक्री सुरू गरेको थियो । अब तिहार अघि नै दुई नयाँ मोडल बिक्री सुरु गर्ने भएको हो ।
कम्पनीले आधिकारिक रुपमा नै यी मोडल बिक्री सुरू हुन लागेको भने छैन । तर, हालै सार्वजनिक एक टिजरका अनुसार हिरो एक्स्ट्रिम १६० आर फोर भी केही दिन भित्रमा नै सार्वजनिक हुनेछ ।
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिइएको छ । यसले पहिलेको भन्दा १.७ पीएस पावर र ०.६ एनएन टर्क बढाएको छ । यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस रहेको छ ।
यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४.४ सेकेन्डमै ०-६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेट्टाउने छ ।

त्यस्तै,कम्पनीले नाडा अटो शो २०२४ मा प्रदर्शन गरेका स्पोर्टी कम्युटर एक्स्ट्रिम १२५ आर समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
कम्पनी स्रोतका अनुसार तिहारको समयमा एक्स्ट्रिम १२५ आर सार्वजनिक हुनेछ । त्यस्तै, नाडा अटो शो २०२४ प्रदर्शन गरिएको हिरो करिज्मा एक्सएमआर २१० समेत तिहार लगत्तै सार्वजनिक हुने अनुमान गरिएको छ ।


