विकास समितिमा सांसदको प्रश्नः आज गरेको सडक कालोपत्रे भोलि किन उक्किन्छ

काठमाडौं । विकास निर्माणको काम समयमा हुन नसकेको आरोप खेपिरहेको सरकारलाई संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्ने सांसदहरुले गुणस्तरहिन निर्माणको परिक्षण हुनु पर्ने माग गरेका छन् । 

बैठकमा बोल्दै सांसद गणेश पहाडी भने–‘आज गरेको सडक कालोपत्रे भोलि उक्किन थाल्छ, राष्ट्रिय गौरवका योजना त यस्ता कमसल सामाग्रीले बन्न थाले भने अझ सामान्य विकासका योजना कस्तो होलान ?’

पहाडीले आजको छलफल विषय केन्द्रित भएर प्रस्तुति हुन नसकेको समेत टिप्पणी गरेका थिए । भने अन्य सांसदहरुले विकास निर्माणमा भएका अनुगमन तथा छानबिनको बारेमा केन्द्रले पूर्ण जानकारी दिन नसकेको गुनासो गरेका थिए । 

यस्तै सांसद कमला रोक्काले जनताले विकास निर्माणमा परिणाम खोजेको बताउदै निर्माणका काम निकै सुस्तसँग अघि बढी रहेको र कतिपय ठाउँमा साना–साना कुराले निर्माण रोकिने गरेको गुनासो गरिन् ।

आफु केन्द्रको काम प्रति असन्तुष्ट भएको भन्दै अहिलेसम्म केन्द्रले गरेको अनुगमन निरिक्षणको बारेमा तथ्यांकसहितको विवरण पेश गर्न उनले माग गरेकी थिइन् । 

बैठकले राष्ट्रिय गौरव तथा विकास निर्माणका योजनाहरुको निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर परिक्षणको व्यवस्था मिलाउन राष्ट्रिय सर्तकता केन्द्रलाई निर्देशन दिएको छ । 


Back_to_top