जीकरको ४ लाख युनिट उत्पादन पुरा

काठमाडौं । चिनियाँ अटोमोवाइल ग्रुप जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जीकरले उत्पादन थालेको ३७ महिनामा ४ लाख युनिट उत्पादन पुरा गरेको छ । कम्पनीले आफ्नो चार लाखौं युनिटको रुपमा ‘मिक्स मिनीभ्यान’ उत्पादन गरेको हो ।

जिली ग्रुपले सन् २०२१ मा स्थाना गरेको जीकर ब्राण्डले कुल उत्पादनको लगभग आधा १ लाख ९४ हजार ९३३ युनिट कार चालु वर्षको ११ महिनामा उत्पादन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । जीकरको उत्पादन चीनमा रहेको तीन प्लान्टबाट हुँदै आएका छन् ।

जीकरले बनाएको चार लाखौं युनिट मिक्स मिनीभ्यानको क्याविनमा रहेको स्थान ९३ प्रतिशत प्रयोग गर्न सकिने कम्पनीको दावी छ । स्लाइड डोर प्रयोग भएको मिक्स मिनीभ्यानको लम्बाइ ४६६८ एमएम, चौडाइ १९९५ एमएम र उचाइ १७७५ एमएम छ । केबल ४.९५ मिटर टर्निङ रेडियस भएको मिनीभ्यानमा ७६ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ । यसले ५५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

कम्पनीले यसको लङ रेन्ज मोडलमा १०२ किलोवाट आवरको एनसीएम ब्याट्री दिएको छ । यसको रेन्ज भने ७०० किलोमिटरसम्म रहने बताइन्छ । यसको मूल्य ३८ हजार ५०० देखि ४१ हजार २०० अमेरिकी डलरसम्म तोकिएको छ ।


Back_to_top