काठमाडौं । पछिल्ला दुई वर्ष गाडी भनेकै विद्युतीय भन्ने अवस्था बनेको छ । तर, चल्तीका युरोपियन र जापानीज ब्राण्डले नेपालमा अहिलेसम्म विद्युतीय कार ल्याउन सकेका छैनन् । तर, उनीहरूले बिक्री गर्दै आएको पेट्रोलियम पदार्थबाट चल्ने कारहरू अझै उत्कृष्ट छन् ।
विद्युतीय कार र त्यसको बारेमा थुप्रै जानकारी प्राप्त भएका छन् । तर, बजारमा पेट्रोल कार खोज्नेलाई अप्सनै छैन जस्तो अवस्था सृजना भएको छ । त्यसैले हामीले जर्मन ब्राण्ड फक्सवागेनले भारतमा उत्पादन गरेको एसयूभी टाइगुन लिएर टेष्ट ड्राइभ गरेका छौं ।
फक्सवागेनले टाइगुनलाई भारतमा उत्पादन गरेको बजेट एसयूभी हो भन्दा फरक पर्दैन । किन भने मूल्यको हिसाबले यसलाई ५५ लाख ९० हजारदेखि ७९ लाख ५० हजार रुपैयाँसम्म तिरेर खरिद गर्न सकिन्छ । नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपालले यसलाई बिक्री गर्दै आएको छ ।
हामीले टाइगुन चलाएको एरिया
हामीले टाइगुन एसयूभीको टेष्ट ड्राइभ काठमाडौंदेखि चितवनसम्म गरेका थियौं । काठमाडौंको चन्द्रागिरि, चित्लाङ, मार्खु, हेभी, भीमफेदी, हेटौंडाहुँदै चितवनसम्म यसलाई चलाएका थियौं ।

यही बाटो छनोट गर्नुको मुख्य कारण कच्ची, अफ्ठेरो र समथर चिल्लो कालेपत्र सबै सडकमा चलाएर हेर्ने हाम्रो योजना थियो । उक्त रुटले हाम्रो योजनालाई पर्फेक्ट बनायो ।
माइलेज
हामीले चलाएको बाटो करिब १७० किलोमिटर हाराहारी थियो । यस दौरान गाडीले केबल १५ लिटर पेट्रोल खपत गरेको थियो । यसमा दिएको ९९९ सीसी क्षमताको टर्बो इन्जिनले राम्रै माइलेज दिएको मान्न सकिन्छ ।
पावर र पर्फर्मेन्स
फक्सवागेन टाइगुनमा ९९९ सीसी टीएसआई इन्जिन भएको कारण पावरमा कमी महशूस हुँदैन । सुरूमा गाडी उठाउँदा केही स्लो भए पनि आरपीएम मिटरमा २ हजार आरपीएम पुग्नासाथ गाडीको स्पीड तीव्र्र गतिमा बढ्छ ।

यसमा दिइएको इन्जिनले ११५ हर्स पावर र १७५ एनएम पीक टर्क प्रदान गर्छ । यसमा सीक्स स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा छनोट गर्न सकिन्छ ।
यसको टर्बो इन्जिन पूर्णतः एक्टीभ भएपछि गाडी १२०÷१३० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडाउँदा पनि कुनै किसिमको डर सृजना हुँदैन । गाडीको बडी हल्दैन । निकै स्टेबल बडी पाउन सकिन्छ ।
अन्य फिचर के-के छन् ?
टाइगुनमा सिंगल पिस हेडलाइट, टु स्ल्याट क्रोम ग्रिल र लोअर बम्परमा पनि क्रोम दिएको कारण अगाडि लुक्सले कन्टेम्प्रोररी युरोपियन डिजाइन ल्याङ्वेजको फिल दिन्छ । त्यस्तै, पछाडि दिइएको वारपार फैलिएको टेललाइट क्लष्टर र क्रोम एसेन्टले एसयूभीलाई मोर्डन बनाएको छ ।

ड्यूल टोन अलोय ह्वील र थोरै एजहरूको प्रयोग भएको बडी डिजाइन यसमा पाउन सक्नुहुन्छ । एप्पल कारप्ले, एन्ड्ररोइड अटो, माई फक्सवागेन कनेक्ट एपसहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर सहितको भिजुअल ककपिट एसयूभीको बलियो पक्ष हो ।
अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी टाइप सिपोर्ट, वायरलेस चार्जिङ प्याड, भेन्टिलेटेड सिट जस्ता धेरै विशेषताले अहिले चल्तीको एसयूभीको सूचीमा टाइगुनलाई बलियो बनाएको छ । टाइगुन सेफ्टीको मामलामा समेत उत्कृष्ट रहने छ । यसमा ६ वटा एयरब्याग, ईएससी, टायर प्रेसर डिफ्लेसन वर्निङ तथा आइएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ ।
सबैभन्दा बलियो ब्राण्ड नेम
युरोपियन जाइन्ट फक्सवागेनले उत्पादन गरेको कारण यसको सबैभन्दा बलियो पक्ष नै ब्राण्ड नेम हो । यसका अलावा उत्कृष्ट माइलेज, सानो इन्जिनको उच्च पर्फर्मेन्स, सुरक्षामा अब्बल र ट्रेन्डी डिजाइन यसको बलियो पक्ष हो ।

