ह्याचव्याक सेग्मेन्ट उठाउने तीन इलेक्ट्रीक कार

काठमाडौं । साना कारको बजार न्यून बन्दै गएको समयमा आएका तीन मोडलले बजारमा ठूलो परिवर्तन ल्याए । मूल्यका हिसावले ४० लाखभन्दा कम र २५ लाख माथिका यी कार अहिले पनि बजारमा चल्तीका मोडल हुन् ।

विद्युतीय कारको बिक्री बढ्न थालेसँगै बजारमा चल्तीका मोडल तिब्र गतिमा परिवर्तन भइरहेका छन् । त्यसको उदाहरण पछिल्ला दिनमा आएका एकपछि अर्को मोडलको सफलता र कुनै समयका चर्चित मोडलको बिक्री बन्द वा कमजोर हुनुले प्रस्ट पार्छ ।

हुन्डाई कोना ईभी, बीवाइडी अल न्यू इ-६, टाटा नेक्सन ईभी, एमजी जेडएस ईभी जस्ता मोडल कुनै समयमा आफ्नो सेग्मेन्टका लिडर थिए । अहिले यी मोडलको बिक्री निकै कमजोर छ । अझ टाटा र बीवाइडीले यी मोडल आयात नै बन्द गरिसकेका छन् ।

ईभीको बिक्री बढ्दा पनि साना कार खोज्नेलाई ईभीमा खासै छनोट उपलब्ध थिएन । तर, टाटाले टियागो ईभी ल्याएसँगै साना कारको बजारमा नयाँ तरङ्ग पैदा भयो । त्यसअघि बजारमा रहेको नेटा भीले कम बजेटमा राम्रो कार खोज्नेको आवश्यकता पुरा गर्दै आएको थियो । विकल्पमा आएको बीवाइडी डल्फीन र निकै कम बजेटको टियागोले साना ईभी खोज्नेलाई उपयुक्त विकल्प दिए ।

बजार परिवर्तन गर्ने तीन साना ईभी

डल्फीनः बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले बिक्री गर्दै आएको डल्फीन अहिलेसम्म १ हजार ६३६ युनिट आयात भएको छ । यसको मतलव विद्युतीय साना कारको बजारमा डल्फीन लिडर मध्येको एक मोडल हो ।

बीवाइडी डल्फीनको सेल्स रफ्तार अहिले पनि जारी छ । सुरुमा ३८ लाख ८० हजारमा बिक्री सुरु भएको डल्फीनको मूल्य बढेर ४१ लाख १५ हजार रुपैयाँ पुगेपनि यसको बिक्री राम्रो भइरहेको छ । ४५ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर रहेको डल्फीन सुरक्षा फिचरमा पनि अब्बल मोडल हो ।

टियागोः टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टियागो ईभी नाडा अटो शो २०२३ बाट नेपालमा बिक्री सुरु भएको मोडल हो । यसअघि पेट्रोल इन्जिनमा उपलब्ध टियागो ईभीमा आएको थियो, त्यसलाई उपभोक्ताले खुबै मनपराए ।

टाटाले यसलाई ४९ किलोवाटको मोटर र २४ किलोवाट आवर क्षमताको ब्याट्रीमा ल्याएको थियो । सहरी क्षेत्रमा यात्रा गर्नु पर्ने धेरै मानिसको रोजाईमा टियागो ईभी पर्दा यसले साना ईभीको बजार हिस्सालाई नै बढाउन सफल भयो । १ हजार ८१९ यूनिट आयात भएको छ ।

उसोत टाटाले ल्याएको पन्च ईभी एसयूभी सेग्मेन्टमा उपलब्ध भएपनि कम मूल्यको कारण सफलता पाउने अर्को मोडल हो । भदौबाट नेपाल आइरहेको पन्च ईभीको आयात पनि लगभग ५०० युनिट पुरा भएको छ ।

नामीः बजारमा साना ईभी चर्चित बनाउन नामीको भूमिका देखिदैन । तर, बढ्दो बजारमा नामीको इन्ट्री दमदार बन्यो । उसले नाडा अटो शो २०२४ बाट उपभोक्ता तान्न थालेको हो । सडक पूर्वाधारमा बेमौसमी वर्षाले क्षती गर्दा नामीको ईभी दशैं अगाडि धेरै आउन पाएन ।

तिहारपछिबाट तिब्र आयात र बिक्री सुरु भएको नामीको आयात ३०० युनिट पुरा भएको छ । ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर, ३१ र ४२ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध नामी मूल्यको हिसावले पनि ३० लाखबाटै सुरु हुन्छ । त्यसैले यसको बिक्रीमा रफ्तार आएको हो ।


Back_to_top