काठमाडौं । अहिले विद्युतीय कार बजारमा चिनियाँ उत्पादनको रजगज चलिरहेको छ । पछिल्ला दिनमा आएका अधिकांश चिनियाँ उत्पादनले नेपाली बजारमा राम्रो व्यापार गर्न सफल भएका छन् ।
सन् २०२३ देखि बजारमा चिनियाँ उत्पादनले उल्लेखनिय व्यापार गर्दै आएका छन् । बीवाइडी एटो-३, दीपल एस-०७, ओमोडा ई-५, जेको जे-६ जस्ता एसयूभीले उत्कृष्ट व्यापार गर्दै आएका हुन् ।
दुई वर्षको अन्तरालमा बीवाइडी एटो-३ अहिलेसम्म ३ हजार ४६३ युनिट आयात भइसकेको छ । दुई वर्षको अवधिमा भएको यो आयात अटोमोबाइल बजार परिवर्तन गर्न काफी थियो । बीवाइडी डल्फीनको आयात पनि एक वर्षभन्दा केही बढी अवधिमा १ हजार ६६३ युनिट भएको छ ।
ओमोडा ई-५३८ जेको जे-६ एसयूभी १५४ र दीपल एस-०७ मोडल ६३१ युनिट आायत भइसकेको छ । यसका अलावा सेरेस-३, जीएसी एवोन वाई, नेटा भी, नेटा एक्स, लीपमोटर सी-१० जस्ता मोडलले उत्कृष्ट व्यापार गर्न सफल भएका छन् ।
चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न नेपाली बजारका लागि पुराना मानिएका ब्राण्डहरू टोयोटा, होन्डा, सुजुकी, महिन्द्रा, हुन्डाई जस्ता ब्राण्डले आफ्ना एसयूभीहरू बजारमा ल्याउने तयारी थालेका छन् ।
सन् २०२५ को पहिलो क्वाटरमा होन्डा इःएन१, हुन्डाई क्रेटा ईभी, सुजुकी इ-भिटारा, महिन्द्रा बीइ-६ जस्ता मोडल आउँदैछन् । त्यसका अलावा टोयोटा अर्वान क्रुजर ईभी, टाटा न्यू नेक्सन र कर्भ ईभी जस्ता मोडल बजारमा आउने छन् ।
बजारमा आउन लागेको नयाँ एसयूभीहरू ३०० किलोमिटरदेखि ४०० किलोमिटरसम्म रेन्ज दिने खालका छन् । जुन अहिले बजारमा सर्वाधिक चल्तीका मोडलमा पाइने रेन्ज हो ।
चीनमा बनेका विद्युतीय कारहरू मूल्यको हिसाबले निकै प्रतिस्पर्धी छन् । त्यस्तोमा पुराना ब्राण्डले ल्याउने विद्युतीय कारहरुको मूल्य कति कायम हुन्छ, त्यसले नै बजारको दिशा निर्धारण गर्नेछ ।

