चीनको इलेक्ट्रीक कार स्टार्टअप कम्पनी बाइटोनले ४९ इन्चको डिस्प्ले भएको ड्यासबोर्डसहितको एसयूभी ‘एम–बाइट’ मोडल बजारमा ल्याउने भएको छ । उक्त मोडललाई कम्पनीले अमेरिकामा आयोजित अटो शो सीईएस २०१९ मा प्रदर्शन गरेको थियो ।
यसमा प्रयोग गरिएको एडिसनल डिस्प्लेले यूजरलाई इन्टरफेस गराउनुकासाथै उसको इशारा र आवाजको पहिचान गर्ने गर्छ ।
यसमा उपलब्ध पाँचवटा स्क्रिन स्ट्यान्डर्ड ट्यावलेटको आकारमा रहेको छ । यसको एक स्क्रिन स्टेयरिङ्ग ह्वीलका बीचमा राखिएको छ । कम्पनीले २०१९ को अन्त्यबाट यसको उत्पादन सुरु गर्ने योजना बनाएको छ भने २०२१ मा बजारमा ल्याउने लक्ष्य लिएको छ ।
चीनमा यसको मूल्य ४५ हजार डलर अर्थात् करिब ५० लाख रुपैयाँ पर्न आउँछ । कम्पनीका सीईओ डा. कार्सन ब्रिटफिल्डले आधुनिक कार एम–बाइटमा नयाँ पुस्ताको स्मार्ट डिभाइस लगाएको दाबी गरेका छन् ।
स्टेट अफ द आर्ट अफ एभी प्लाटफर्म र बाइटोनको लाइफ डिजिटल इकोसिस्टमको सहकार्यमा यो मोडलको उत्पादन सम्भव भएको उनले जानकारी दिएका छन् ।
यसकासाथै, यो कारमा ड्राइभर र यात्रुको सुरक्षाका लागि हेडरेस्ट टचस्क्रिन डिस्प्ले लगाइएको छ । यो मोडल सिङ्गल चार्जमा २ सय ५० माइलसम्म अर्थात् ४०० किलोमिटर चल्ने कम्पनीले जनाएको छ । यसको टप भेरियन्ट भने फूल चार्जमा ३ सय २५ माइल अर्थात् ५२० किलोमिटरसम्म चल्न सक्नेछ ।


