काठमाडौं । नयाँ वर्ष सन् २०२५ को पहिलो क्वाटरमै करिब १ दर्जन बढी नयाँ मोडल नेपाल आउने भएका छन् । विशेषगरी नयाँ आउने सबै मोडलहरू इलेक्ट्रीक हुने भएको कारण चीन र भारतबाट आउने छन् ।
सन् २०२५ को पहिलो क्वाटरमा होण्डा, जीएसी एवोन, एमजी, हुन्डाई, टाटा, सुजुकी, महिन्द्रा, दीपल, ओमोडा/जेको, फरथिङ लगायत ब्राण्डले करिब एक दर्जन मोडल बजारमा उतार्दैछन् ।
नयाँ वर्षको सुरूआतसँगै आउने नयाँ गाडीहरूमा सबैभन्दा पहिला होण्डा ई एन-वान नेपाल आउने छ । जनवरी अन्तिमसम्ममा स्याकार ट्रेडिङ कम्पनीले होण्डाको इलेक्ट्रीक एसयूभी बिक्री सुरू गर्ने तयारी गरिरहेको छ ।
जनवरीमै एमजी एस–फाइभ मोडल पनि नेपाल आउने छ । एमजी जेडएस ईभीको विकल्पमा आउने एस-फाइभ एमजी-फोरको प्लेटफर्ममा बनेको क्रसओभर एसयूभी हो । निकै आकर्षक मूल्यमा आउने अनुमान गरिएको एस-फाइभ ईभी बजारमा प्रतिक्षा गरिएको मोडल हो ।
जीएसी एवोन भी अर्को बुकिङ खुला भइसकेको मोडल हो । सीजी मोटर्सले बुकिङ खुला गरेको एवोन भी पनि एसयूभी सेग्मेन्टमा नै आउन लागेको हो । सम्भवतः जनवरी अन्तिमसम्ममा यसको आधिकारिक बिक्री सुरू हुनेछ ।
हुन्डाई क्रेटा अर्को नेपाल आउन तयार मोडल हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनवरी अन्तिम वा फेब्रुअरीको पहिलो सातासम्ममा क्रेटा ईभी नेपाल ल्याउने गरी तयारी भइरहेको जनाएको छ ।
डोङफेङ फरथिङ मोडल पनि चाँडै नेपाल आउने मोडल हो । लक्ष्मी इमोबिलिटीले नेपाल ल्याउने फरथिङ ब्राण्डको एसयूभीको डेमो भेहिकल जनवरीको सुरूवातमै नेपाल आउने स्रोतले जानकारी दियो ।
मारुती सुजुकीको पहिलो मोडल ई भिटारा पनि मार्चमा नेपाल आउने मोडलमा पर्छ । जनवरीमा सार्वजनिक हुने ई भिटारको डिटेल जानकारी कम्पनीले दिइसकेको छ । नेपालमा आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले ई भिटाराको प्रोमोसनल गतिविधि सुरू गरिसकेको छ ।
महिन्द्राले केही दिन अगाडि देखाएको बीई-सिक्स र एक्सईभी-नाइन दुवै मोडल उच्च प्राथमिकतामा राख्दै नेपालमा बिक्री सुरू गर्ने योजना बनाएको छ । नेपालमा महिन्द्राका गाडी बिक्री गर्दै आएको अग्नी ग्रुपले यी दुवै एसयूभी मार्चको अन्तिमसम्ममा नेपाल ल्याउन प्रयास गरिरहेको जनाएको छ ।
एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले भारतमा उत्पादन भएको विन्डसर ईभी पनि २०२५ को पहिलो क्वाटरमै नेपाल ल्याउने छ । कम्पनी स्रोतका अनुसार ह्याचब्याक सेग्मेन्टमा आउने नयाँ कारको बुकिङ कुनै पनि बेला खुला हुन सक्नेछ ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि २०२५ को सुरूवातसँगै दुई नयाँ मोडल नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ । सिप्रदीले फेसलिफ्ट नेक्सन ईभी र कर्भ ईभी नेपाल ल्याउने तयारी थालेको हो । यी दुई मोडल पनि नयाँ वर्षसँगै नेपाली बजारमा उपलब्ध हुनेछन् ।
चांगानको न्यू इनर्जी ब्राण्ड दीपलले पनि दुई नयाँ मोडल नेपालमा बिक्री सुरू गर्दैछ । आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले सुरूमा नेभो ई–०७ र त्यसपछि दीपल एस-०५ गरी दुई मोडल ल्याउने तयारी थालेको हो ।
ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जे-सिक्सको अलह्वील ड्राइभ मोडल बजारमा ल्याउने छ । यी सबै मोडल बजारमा उपलब्ध भएसँगै विद्युतीय कारमा तीव्र प्रतिस्पर्धा सुरू हुनेछ ।

