‘एवोन भी’को बुकिङ खुला, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । सिजी मोटर्सले जीएसी एवोन भीको बुकिङ खुला गरेको छ । कम्पनीले दुई भेरियन्टमा एवोन भीको बुकिङ खुलाएको हो ।

नाडा अटो शो २०२४ मा लेफ्ट ह्याण्ड ड्राइभ मोडल ल्याएर देखाएको सिजी मोटर्सले जनवरी अन्तिमबाट बिक्री गर्ने योजनासहित बुकिङ खुला गरेको जानकारी दिएको छ ।

सर्ट रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउन लागेको एवोन भीमा ६२ र ७५ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिइएको छ । कम्पनीले यसको मूल्य ६५ देखि ७० लाख भित्रै रहनेगरी बुकिङ खुलाएको हो ।

‘हामीले गाडीको बुकिङ खुलाएका छौं । फिचर लोडेड दुबै भेरियन्टमा ब्याट्री साइजको मात्रै फरक पाउन सकिन्छ । सबै किसिमका आधुनिक फिचर भएको गाडीलाई ५० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

जीएसीको एवोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा कमाइ रहेको मोडल हो । कम्पनीका अनुसार एवोन-भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।

एवोन-भी मोडललाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।

सिजीले नेपाल ल्याउने एवोन भी मोडलमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने सिएलटीसी टेष्टले देखाएको छ । यसको रियल वर्ल्ड रेन्ज ५३० किमी हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुने अनुमान गरिएको एवोन-भीको लम्बाई ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ ।


Back_to_top