काठमाडौं । किया मोटर्सको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले १ करोड ८० लाख मूल्य कायम गरेर बिक्री गर्दै आएको ईभी-९ को आयात अहिलेसम्म १० युनिट गरेको छ । कम्पनीले मे २०२४ मा ९ युनिट र नेभेम्बर २०२४ मा १ युनिट गरी कुल १० युनिट आयात गरेको हो ।
निकै ठूलो साइजमा उपलब्ध किया ईभी-९ फुल साइज एसयूभी हो । कन्टीनेन्टल ट्रेडिङले नेपाल ल्याएको ७ महिनाको अवधिमा १० युनिट ईभी ९ ल्याएको भन्सार तथ्यांकमा देखिन्छ ।
किया ईभी-९ को लम्बाइ ५०१० एमएम, चौडाइ १९८० एमएम र उचाइ १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ ।
कन्टीनेन्टल ट्रेडिङले सात सिट क्षमताको ईभी-९ नेपाल ल्याएको हो । यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी-९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
नेपालमा ईभीको पीक पवारमा कर लाग्दै आएको कारण धेरैको चासो यसमा रहेको मोटरमा पनि हुने गरेको छ । किया ईभी-९ मा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यो एसयूभीको टप स्पीड क्षमता १९० किलोमिटर प्रतिघन्टा रहेको छ ।


