काठमाडौं । टेस्लाभन्दा पहिला इलेक्ट्रीक कार बनाएको जापानीज अटोमोवाइल कम्पनी मित्शुबिसीले बल्ल नयाँ इलेक्ट्रीक क्रसओभर एसयूभी ल्याउने भएको छ । मित्शुबिसीले निसानको लिफ तथा टेस्लाको मोडल एस आउनु पहिले नै सन् २००९ मा ‘आई–एमआई ईभी’ नामले इलेक्ट्रीक कार ल्याएको थियो ।
आई-एमआई ईभी लामो समय बजारमा चलेन । त्यसपछि ईभी प्रोजेक्टबाट पछाडि हटेको मित्शुबिसीले अब भने इलेक्ट्रीक भेहिकल ल्याउने भएको हो । कम्पनीले गत हप्ता डिलर कन्फ्रेन्स गरेर सन् २०२५ भित्रै नयाँ ईभी बजारमा आउने जानकारी दिएको हो ।
मित्शुबिसी नयाँ इलेक्ट्रीक एसयूभी सन् २०२१ मा निसानले देखाएको चीलआउट कन्सेप्ट जस्तो हुने अनुमान गरिएको छ । अहिलेको प्रतिस्पर्धी बजारमा टिक्न कम्पनीले सानो साइजको क्रसओभर कुप्पे डिजाइन एसयूभी ल्याउने छ ।
निसानको सीएमएफ ईभी प्लेटफर्ममा बन्ने नयाँ एसयूभीको बिक्री भने अमेरिकी बजारबाट सुरु हुनेछ । कम्पनीले नयाँ ईभीको टेक्नीकल डिटेल्स र अनुमानित मूल्य भने बाहिर ल्याएको छैन ।
मित्शुबिसीले नयाँ विद्युतीय कारसँगै आफ्नो लाइनअप सर्वाधिक सफल मोडल आउटल्याण्डरको नयाँ रगेड भर्सन समेत आगामी वर्षभित्र बजारमा ल्याउने योजना बनाएको छ ।


