काठमाडौं । दुईपाँग्रे (मोटरसाइकल र स्कुटर) अटोमोबाइल बजारले विस्तारै लय समात्न थालेको छ । आर्थिक शिथिलताका कारण विगत ४/५ वर्ष यता थलिएको दुईपाँग्रे बजार पछिल्ला महिनाहरुमा क्रमशः लयमा फर्किन थालेको हो ।
बिक्रेताहरूले आयात गरेको तथ्यांकले दुईपाँग्रे बजारमा सुधारोन्मुख अवस्थामा रहेको देखाएको हो । सन् २०२४ को ११ महिनाको आयात तथ्याङकले नेपालको दुईपाँग्रे बजार विस्तारै कोभिड अघिको अवस्थामा फर्किने संकेत देखाएको हो ।
सन् २०२४ को ११ महिनामा नेपाली बजारमा इलेक्ट्रीक र पेट्रोल गरी १ लाख ५८ हजार ५०० बढी युनिट दुईपाँग्रे सवारी साधन आयात भएको छ । जसमा १ लाख ५३ हजार ६१३ युनिट पेट्रोलबाट चल्ने र बाँकी इलेक्ट्रीक रहेको छ ।
सन् २०२४ मा २०२३ को तुलनामा दुईपाँग्रे सवारी आयात करिब ८० प्रतिशतले बढेको छ । सन् २०२३ मा करिब ८८ हजार युनिट दुईपाँग्रे सवारी आयात भएको थियो ।

यद्यपि, पेट्रोलबाट चल्ने दुईपाँग्रे सवारीको आयात उल्लेख्य रुपमा वृद्धि भए पनि इलेक्ट्रीक दुईपाँग्रेको भने सुधार आउन सकेको छनै । सन् २०२४ मा करिब ५ हजार युनिट मात्रै इलेक्ट्रीक दुईपाँग्रे आयात भएको छ ।
कोभिड अघि वर्षमा २ लाख बढी सवारी आयात हुँदै आएको थियो । तर, कोभिडपछि ओरालो लागेर वार्षिक पौने लाख युनिटसम्म झरेको थियो भने अहिले फेरि वार्षिक डेढ लाख युनिट माथि पुगेको हो । आगामी दिनमा दुईपाँग्रेको आयात अझै बढ्ने देखिएको छ ।
होण्डाको वर्चश्व, पछ्याउँदै टीभीएस
नेपालमा करिब ५० बढी ब्राण्डका (पेट्रोल र इलेक्ट्रीक)का दुईपाँग्रे सवारी आयात हुँदै आएको छ । तर, बजारमा भने पेट्रोलबाट चल्ने करिब १ दर्जन ब्राण्डको वर्चश्व छ ।
सन् २०२४ मा दुईपाँग्रे सवारी आयातमा होण्डा पहिलो स्थानमा रहेको छ । नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ १ वर्षमा ४४ हजार ४०२ युनिट दुईपाँग्रे आयात गरेको छ । जसमा स्कुटर ३१ हजार १३२ युनिट स्कुटर रहेको छ । होण्डा एक्लैले कुल आयातको २९ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै, सन् २०२४ मा धेरै आयात हुने ब्राण्डको दोस्रो स्थानमा टीभीएस रहेको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ३० हजार ८२८ युनिट दुईपाँग्रे आयात गरेको छ । जसमा १९ हजार १३४ युनिट स्कुटर आयात गरेको छ ।
त्यस्तै, मोटरसाइकल मात्र बिक्री गर्दै आएको बजाज भने तेस्रो नम्बरमा धकेलिएको छ । बजारमा स्कुटरको व्यापार बढेसँगै बजाजलाई धक्का लागेको हो । सन् २०२४ मा बजाजले २५ हजार ७७४ युनिट मोटरसाइकल आयात गरेको छ । यसमा हालैमात्र नेपाली बजारमा भित्रिएको ट्रायम्फ मोटरसाइकलको समेत तथ्यांक जोडिएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको मोटरसाइकल आयात गर्दै आएको छ ।
त्यस्तै, चौथामा यामाहाले १३ हजार ६३ युनिट स्कुटर र १० हजार ११ युनिट मोटरसाइकल गरी कुल २३ हजार ६४९ युनिट दुईपाँग्रे आयात गरेको छ ।
पाँचौ नम्बरमा नेपाली बजारमा पुनः बिक्री सुरु भएको हिरो छ । हिरोले १५ हजार १७४ युनिट आयात गरेको छ भने रोयल इनफिल्डले ३५० सीसीभन्दा माथिका ९ हजार ३९९ युनिट मोटरसाइकल आयात गरेको छ ।
त्यसैगरी, भेष्पा अप्रिलियाले १ हजार ७९७ युनिट, केटीएमले १ हजार ६५० युनिट, सुजुकीले ५०५ युनिट, सिएफ मोटोले १७६ युनिट र अन्य ब्रान्डले २५९ युनिट आयात गरेको तथ्यांक छ ।


