नेपालमा यामाहा एक्सएसआर १५५ बिक्री सुरू, मूल्य ५.३९ लाख माथि

काठमाडौं । नेपालमा यामाहाको एक्सएसआर १५५ मोटरसाइकल आधिकारिक रुपमा सार्वजनिक भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मार्फत एक्सएसआर १५५ मोडलको बिक्री सुरू गरेको हो ।

नियो क्लासिक रेट्रो क्रुजर सेग्मेन्टमा आधारित नयाँ यामाहा एक्सएसआर १५५ मोटरसाइकल रेड, ब्ल्याक र ग्रे गरी तीन कलर भेरियन्टमा उपलब्ध भएको हो ।

कम्पनीले नेपाली बजारमा एक्सएसआर १५५ मोटरसाइकलको रेड भेरियन्टको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ, ब्ल्याक भेरियन्टको ५ लाख ४४ हजार ९०० रुपैयाँ र ग्रे भेरियन्टको ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।

यसको डिजाइन विश्वव्यापी एक्सएसआर १५५ बाट प्रेरित छ । यसमा क्लासिक स्टाइलका साथै मोर्डन टच पाउन सकिन्छ । एक्सएसआर मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै इन्जिन प्लेटफर्ममा निर्माण भएको मोडल हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ । कम्पनीले रेट्रो डिजाइनको मोटरसाइकल मन पराउने ग्राहकका लागि विशेष गरी यो एक्सएसआर १५५ मोडल ल्याएको हो ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८।४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, कल एसएमएस अलर्ट, पूरा एलईडी लाइट, डीआरएल, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायत फिचरहरू पाउन सकिन्छ ।


Back_to_top