काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता अमेरिका भ्रमणको क्रममा विश्वकै धनाढ्य व्यक्ति एवम् विद्युतीकार कार निर्माता टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता गरे ।
मोदीले भेटमा मस्कलाई भारतमा लगानीको लागि आमन्त्रण गरेका थिए । मस्क हाल अमेरिकी सरकारको प्रशासन हेर्न मुख्य व्यक्ति समेत हुन् । उनको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिधा सम्बन्ध रहेकाे छ ।
यसैबीच, मस्कले आफ्नो व्यवसाय भारतमा विस्तार गर्ने प्रक्रिया अघि बढाएका छन् । मस्कको कम्पनी टेस्लाले भारतमा आफ्नो शोरुम स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले भारतको मुम्बई बेसका लागि विभिन्न पदहरूमा भ्याकेन्सी खोलेको छ । अमेरिकी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्सा इंकले विश्वभरी आफ्नै शोरुम मार्फत बिक्री गर्दै आएको छ ।
कम्पनीले कुनै पनि देशमा डिलर बनाएको जानकारीमा छैन । भारतमा १३ पोजिसनमा कर्मचारीको आवेदन खोलेको हो । तर, कम्पनीले आधिकारिक रूपमा भारत प्रवेश गरेको कुनै जानकारी दिएको छैन । टेस्लाले कम्पनीको लिङक्डइन अकाउण्टमा मुम्बइको लागि भ्याकेन्सी अनाउन्स गरेको हो ।

भारत पछिल्लो समयमा विश्वको ठूलो मध्यको एक अटोमोबाइल बजारको रूपमा विकसित भइरहेको छ । यसअघि पनि टेस्लाले विभिन्न समयमा भारतमा आफ्नो बेस स्थापना गर्ने प्रयास गरेको थियो । तर, भारतमा विदेशी ब्राण्ड आयातका विभिन्न शर्तहरूका कारण भारत पवबेश रोकिएको थियो ।
भारत सरकारले पछिल्लो बजेटमा भने विदेशी लग्जरी ब्राण्डहरूलाई केही छुट दिएको छ । भर्खरै आएको बजेट अनुसार ४० हजार अमेरिकी डलर भन्दा धेरै मूल्य भएको कारको भन्सार अब ११० प्रतिशतबाट ७० प्रतिशतमा झारेको छ । तर, यसको लागि भारतमा ५०० मिलियन डलर भन्दा धेरै लगानी गरी उत्पादन प्लान्ट संचालन गरेको हुनु पर्छ । टेस्लाकाे मामलामा भारतले थप छुट दिने सम्भावना रहेको छ ।
अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लालाई चिनियाँ सरकारले समेत विशेष सुविधा दिएको छ । चीनमा विदेशी ब्राण्डका कारहरूले स्थानीय अटोमोबाइल कम्पनीसँग साझेदारी गर्न अनिवार्य रहेको छ । तर, टेस्लालाई भने स्थानीय साझेदार बिना नै शतप्रतिशत लगानी गर्न छुट दिएको थियो ।


