फक्सवागेनले ल्यायो निकै कम मूल्यमा ईभी, बजार बचाउन प्राइसवार

काठमाडौं । फक्सवागेनले चीनमा आइडी-३ को अपडेटेड मोडल सार्वजनिक गरेको छ । कम्पनीले अपडेटेड मोडललाई १६ हजार ५०० देखि १८ हजार ८०० अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

यसअघि फक्सवागेनले आइडी-३ लाई एनएमसी ब्याट्रीमा उपलब्ध गराउँदै आएको थियो । अब भने एलएफपी ब्याट्रीमा ल्याएको हो । सीएटीएलले उत्पादन गरेको ५३.६ किलोवाट आवरको ब्याट्री प्रयोग गरेर आइडी-३ चिनियाँ बजारमा आएको हो ।

कम्पनीका अनुसार नयाँ ब्याट्रीले सिंगल चार्जमा ४५१ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसको चार्जिङ भने केही स्लो देखिएको छ । कम्पनीका अनुसार ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न डिसी चार्जरलाई ४८ मिनेट लाग्नेछ ।

फक्सवागेन आइडी-३ मा १२५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । रियर ह्वील ड्राइभ मोडलको पीकटर्क ३१० न्यूटन मिटर छ । कम्पनीको दावी मान्ने हो भने आइडी-३ ले १०० किलोमिटर यात्रा गर्दा १३.४ किलोवाट आवर ब्याट्री खपत गर्छ ।

युरोपियन ब्राण्डले १८ र २० इन्चको ह्वील अप्सन दिएर ल्याएको आइडी-३ मा भित्र पनि थुप्रै परिमार्जन गरेर ल्याएको छ । स्कृनको साइज १० इन्चबाट बढाएर १२.९ इन्च बनाइएको छ । यसअघि ड्यासबोर्डमा दिइएको बटमहरु हटाइएको छ ।

चीनमा सर्वाधिक धेरै बिक्री हुने ब्राण्ड पछिल्ला दुई वर्षदेखि पछाडि परेको छ । त्यसैले चिनियाँ ईभीसँग सिधा प्रतिस्पर्धा गर्न फक्सवागेनले आइडी-३ लाई आकर्षक मूल्यमा ल्याएको हो । जसले चिनियाँ बजारमा प्राइसवारलाई थप बढवा दिने निश्चित छ ।


Back_to_top